एन्फा निर्णयविरुद्ध खेलाडीको विरोध : गेटमै मेडल झुण्ड्याएर फर्किए

काठमाडौं,कात्तिक २० गते ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को ए डिभिजन लिग स्थगित गर्ने निर्णयविरुद्ध आन्दोलित खेलाडीहरूले एन्फा मुख्यालयको गेटमै आफ्ना मेडल झुण्ड्याएर प्रतीकात्मक विरोध प्रदर्शन गरेका छन्।

नेपाल फुटबल खेलाडी संघको आयोजनामा बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स अगाडि जम्मा भएका खेलाडीहरूले “खेल्ने हक चाहियो, आश्वासन होइन” भन्दै नाराबाजी गरेका थिए। खेलाडीहरूले आफूहरूको आधारभूत पेशागत हकको रक्षा गर्न सडकमा आउन बाध्य भएको बताएका छन्।

खेलाडी संघका अध्यक्ष विक्रम लामाले मेडल एन्फाकै जिम्मा लगाउँदै भने, “अब यो मेडल एन्फाले आफैँ आएर लाओस्, हामीले यही छाडेर जान्छौं।”

उनका अनुसार पटक–पटक आग्रह गर्दा पनि एन्फाले लिग स्थगित नगर्ने मागलाई बेवास्ता गरेपछि खेलाडीहरू प्रदर्शनमै उत्रिन बाध्य भएका हुन्।

एन्फाले यस वर्ष पुस महिनामा राष्ट्रिय लिग आयोजना गर्ने र अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग सुरु गर्ने निर्णय गरेको छ। सो निर्णयलाई खेलाडीहरूले अन्यायपूर्ण र फुटबलको विकासविरुद्धको कदम भन्दै विरोध जनाएका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ