सहारा क्लब पोखराका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना


काठमाण्डौ,कात्तिक १७ गते।
पोखरा–राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सामाजिक सेवा, खेलकुद र शैक्षिक सहयोगका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको सहारा क्लब पोखराको २७औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व टोलीलाई सहारा बाल आधारभूत विद्यालय, पोखरा–९ ले बधाई तथा शुभकामना व्यक्त गरेको छ।

विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष श्री दिपेन्द्र मर्सानी, सभा अध्यक्ष श्री विक्रम थकाली तथा विद्यालयका प्रधानाध्यापक श्रीमती लोचना कुमारी अधिकारी लगायतका उपस्थितिलाई स्वागत गरियो।
प्रधानाध्यापक अधिकारीले आफ्नो मन्तव्यमा विद्यालयको स्थापना कालदेखि नै सहारा क्लबले शैक्षिक क्षेत्रप्रति देखाउँदै आएको निरन्तर सहयोग र सहकार्यको उच्च प्रशंसा गर्दै नव–निर्वाचित टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रमका क्रममा विद्यालयका पूर्व सल्लाहकार तथा सहारा क्लब पोखराका वर्तमान अध्यक्ष श्री केशव राज बराललाई विद्यालयको तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो। उहाँको क्लब र विद्यालय दुबैमा पुर्‍याएको अमूल्य योगदानको कदरस्वरूप यो सम्मान गरिएको हो।
त्यसैगरी, जापान सरकारको सहयोगमा कार्यरत जाईका संस्थाबाट आएका स्वयंसेवी शिक्षक अन्‍ना चुसिमालाई समेत स्वागत गरिएको थियो।

नव–निर्वाचित अध्यक्ष श्री केशव बहादुर थापाले सहारा क्लब र विद्यालयबीचको सहकार्य अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै क्लब सधैं समुदाय र शिक्षाको हितमा क्रियाशील रहने बताउनुभयो।
मुख्य अतिथि वडा अध्यक्ष श्री दिपेन्द्र मर्सानीले पनि नयाँ टिमलाई बधाई दिँदै आफ्नो तर्फबाट सहयोग र समन्वय निरन्तर रहने प्रतिवद्धता जनाउनुभयो।

विद्यालयका अध्यक्ष श्री विक्रम थकालीले सहारा क्लब पोखराले विगतदेखि नै विद्यालयको उन्नति र विकासमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै भविष्यमा पनि सहकार्यको सिलसिला निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।

विद्यालयका शिक्षक श्री सागर पौडेलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा विद्यालयका समितिका सदस्य, सहारा क्लबका पदाधिकारी, शिक्षक तथा विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ