पहिलोपटक महिला एकदिवसीय विश्वकपको उपाधि

काठमाडौं, कार्तिक १७ गते।
भारतीय महिला क्रिकेट टिमले आफ्नो क्रिकेट इतिहासमा नयाँ अध्याय कोरेको छ। आइतबार सम्पन्न रोमाञ्चक फाइनलमा साउथ अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलोपटक महिला एकदिवसीय विश्वकप (ODI World Cup) को उपाधि उचालेको छ।

मुम्बईस्थित डी.वाई. पाटिल रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ७ विकेटको क्षतिमा २९८ रनको बलियो योगफल बनाएको थियो। त्यसको जवाफमा लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकी टोली ४५ .३ ओभरमै २४६ रनमा समेटियो।

बलियो साझेदारी र भारतीय इनिङको चमक

भारतका लागि ओपनर सफाली वर्मा र स्मृति मन्धनाले शानदान सुरुवात दिलाए। दुवैले पहिलो विकेटका लागि १०४ रनको साझेदारी गरे।
सफालीले ७८ बलमा सात चौका र दुई छक्कासहित ८७ रनको उत्कृष्ट इनिङ खेलिन् भने, मन्धनाले ४५ रनको योगदान गरिन्।
त्यसपछि दीप्ति शर्माले इनिङ स्थिर पार्दै ५८ बलमा तीन चौका र एक छक्कासहित ५८ रन जोडे। विकेटकिपर रीचा घोषले पनि उपयोगी ३४ रन बनाएर टोलीको योगफल बलियो पारिन्।

साउथ अफ्रिकाको संघर्षपूर्ण तर असफल प्रयास

२९९ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको साउथ अफ्रिकी टोलीले राम्रो सुरुवात गरे पनि मध्यक्रममा विकेट गुमाएपछि दबाब झेल्यो।
कप्तान लौरा वोल्वार्ड्टले एक्लैले प्रतिरोध गर्दै १०१ रनको शतकीय इनिङ खेलेकी थिइन्, तर उनको प्रयास जितका लागि पर्याप्त बनेन।
त्यस्तै एनेरी डेर्कसनले ३५ र सुन लुसले समान २५ रनको योगदान गरे भने ताज्मिन ब्रिट्सले २३ रन जोडिन्।

बलिङमा दीप्तिको जादू

भारतको जितमा बलिङतर्फ पनि दीप्ति शर्माले नै चमक देखाइन्। उनले १० ओभरमा ५ विकेट लिएर दक्षिण अफ्रिकी ब्याटिङ लाइनअप ध्वस्त पारिन्।
सफाली वर्माले पनि उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिइन्, जबकि श्री चरामीले १ विकेट हात पारिन्।

ऐतिहासिक उपलब्धि

यो उपाधिसँगै भारतीय महिला क्रिकेटले आफ्नो इतिहासमा पहिलोपटक एकदिवसीय विश्वकप च्याम्पियन बन्ने सफलता हासिल गरेको छ।
यसअघि भारतले सन् २०१७ मा फाइनल पुगेर इंग्ल्याण्डसँग ९रनले हार बेहोरेको थियो।

तर यसपटक घरेलु मैदानमा खेलेको टोलीले त्यो अपूर्ण सपना पूरा गरेको हो।

भारतकी कप्तान हरमनप्रीत कौरले जितपछि भनिन्,

“यो केवल एक जित होइन, भारतीय महिला क्रिकेटको स्वप्निल क्षण हो। टिमका सबै खेलाडीको समर्पण र मेहनतले आज हामी इतिहास लेख्न सफल भयौं।”

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ