
काठमाडौं,कार्त्तिक १४ गते ।

सर्बियाको राष्ट्रिय फुटबल टिमले नयाँ मुख्य प्रशिक्षकका रूपमा भेल्ज्को पौनोभिकलाई नियुक्त गरेको छ। बिहीबार जारी विज्ञप्तिमा सर्बिया फुटबल संघले पौनोभिकलाई औपचारिक रूपमा टिमको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको घोषणा गरेको हो।
पौनोभिक हाल स्पेनिस शीर्ष डिभिजन ‘ला लिगा’ अन्तर्गतको क्लब रियाल ओभिएदोका पनि प्रमुख प्रशिक्षक हुन्। उनले क्लब र राष्ट्रिय टिम दुबैको जिम्मेवारी सम्हाल्ने प्रतिबद्धता जनाएका छन्।
गत अक्टोबर १२ मा तत्कालीन मुख्य प्रशिक्षक ड्रागन स्टोकोभिकले पदबाट राजीनामा दिएपछि सर्बियाको मुख्य प्रशिक्षकको पद रिक्त भएको थियो।
सर्बिया फुटबल संघका महासचिव ब्रांको राडुज्कोले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
“भेल्ज्को पौनोभिक राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्न पूर्ण रूपमा प्रतिबद्ध छन्। उनी क्लब स्तरमा व्यस्त भए पनि राष्ट्रिय टिमको तयारी र प्रदर्शन सुधारका लागि तत्पर छन्। खेलका नतिजा र प्रदर्शनको मूल्यांकनपछि दिर्घकालीन सम्झौताको विषयमा छलफल गरिनेछ।”
संघले पौनोभिकको नेतृत्वमा टिमले सन् २०२६ को फिफा विश्वकप छनोटमा सकारात्मक नतिजा ल्याउने विश्वास पनि व्यक्त गरेको छ।
हाल सर्बिया यूरोपियन क्षेत्रीय छनोटको समूह ‘के’ मा प्ले-अफको दोस्रो चरणमा प्रवेश गर्ने लक्ष्यसहित संघर्षरत छ। समूह तालिकामा सर्बिया १० अंकका साथ तेस्रो स्थानमा छ।
शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले विश्वकपमा स्थान सुरक्षित गरिसकेको छ भने अल्बानिया ११ अंकका साथ दोस्रो स्थानमा छ।
सर्बियाले समूह चरणका दुई खेल बाँकी राखेको छ —
नोभेम्बर १३ मा इंग्ल्यान्डविरुद्ध
नोभेम्बर १६ मा लाट्भियाविरुद्ध
यी निर्णायक खेलमा सकारात्मक नतिजा निकाल्न सके सर्बियाको विश्वकप यात्रा अझ प्रवल बन्नेछ।
