नेपाल गल्फ संघको आयोजना र राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप हुने भएको छ ।
विश्व प्रसिद्ध फाल्डो सिरिजको नेपाल छनोटको रुपमा रहेको प्रतियोगिता चार वर्षपछि सुरु हुन लागेको हो । सन् २०१२ देखि नियमित आयोजना हुदै आएको प्रतियोगिता पछिल्लो समय कोभिडका कारण रोकिएको थियो । ५४ होलमा हुने प्रतियोगिता तीन दिनसम्म चल्नेछ भने चैत्र २८ देखि ३० गतेसम्म हुने प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ १२-१६ र १७-२१ उमेर समूह तथा महिलातर्फ खुला समूहमा प्रतिस्पर्धा हुनेछ । सबै विधाका विजेताले फाल्डो सिरिजमा नेपालको प्रतिनिधित्व गर्नेछन् । यसबाहेक १२ वर्ष मुनिको उमेर समूहमा पनि प्रतिस्पर्धा हुनेछ तर यसबाट कुनै छनोट हुने छैन ।
