तेक्वान्दो खेलका पुराना साधक राम गिरी नेपाल तेक्वान्दो संघको उपाध्यक्षमा मनोनित

काठमाडौं, कात्तिक ३गते ।
तीन दशकभन्दा लामो समयदेखि तेक्वान्दो खेलमा समर्पित युवा उद्यमी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनित भएका छन्।
संघको चितवनको सौराहामा सम्पन्न पाँचौँ अधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष दीपराज गुरुङले गिरीलाई उपाध्यक्षको जिम्मेवारी सुम्पिएका हुन्।

वि.सं. २०४९ सालमा बालग्राम तेक्वान्दो डोजाङ, छाउनीबाट तेक्वान्दो यात्राको सुरुवात गरेका गिरीले पछिल्लो तीन दशकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा दर्जनौँ पदक जित्दै आफ्नो परिचय स्थापित गरेका छन्।

समर्पण र योगदानको लामो यात्रा

गिरी यसअघि संघको केन्द्रीय सदस्य तथा राष्ट्रिय टिमका संयोजकको भूमिकामा सक्रिय थिए। प्रशिक्षकको रूपमा उनले लामो समयदेखि आफ्नै डोजाङ सञ्चालन गर्दै आएका छन्, जसबाट हालसम्म ५ सयभन्दा बढी ब्ल्याक बेल्ट खेलाडीहरू उत्पादन भएका छन्।
उनका प्रशिक्षणमा रहेका खेलाडीहरूले दोस्रोदेखि पाँचौँ डानसम्मका उपलब्धि हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने काम गर्दै आएका छन्।

“मैले प्रशिक्षित गरेका तेक्वान्दो खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो विशिष्ट पहिचान बनाउँदै खेलको विकासमा अतुलनीय योगदान दिइरहेका छन्,” गिरीले भने।
“अब संघको नेतृत्व तहमा रहेर तेक्वान्दो खेल र समाजलाई खेलकुदको माध्यमबाट सामाजिकीकरण गर्दै देश विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छु,” उनले थपे।
तेक्वान्दोका साथै गिरी व्यवसायिक र सामाजिक क्षेत्रमा पनि सफल व्यक्तित्वका रूपमा परिचित छन्। उनले संघ र खेलाडीहरूका लागि विगतदेखि नै निरन्तर सहयोग र संरक्षकको भूमिका निर्वाह गर्दै आएका छन्।
उनका अनुसार, “तेक्वान्दो मेरो जीवनको अभिन्न हिस्सा हो। अध्यक्षको भिजन र निर्देशनअनुसार मैले कमाएको अनुभव संघको कार्यसम्पादनमा प्रयोग गर्नेछु।”

अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च बनाउने संकल्प

तेक्वान्दोले नेपालको खेलकुद क्षेत्रमा विशेष स्थान ओगटेको उल्लेख गर्दै गिरीले आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च बनाउने दृढ संकल्प व्यक्त गरे।
उनले भने, “नेपालको तेक्वान्दोले विश्वमा पहिले नै राम्रो छवि बनाइसकेको छ। अब त्यो छविलाई अझ मजबुत पार्न र नयाँ पुस्तालाई अवसर प्रदान गर्न म सक्रिय रहूँला।”

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ