काभा नेसन्स कप खेल्न बंगलादेश जाने नेपाली पुरुष भलिबल टोलीको बिदाइ

काठमाडौं, कात्तिक २ गते ।
बंगलादेशमा यही कात्तिक ५ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने काभा नेसन्स कप पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन जाने नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको आइतबार एक समारोहका बीच बिदाइ गरिएको छ।

नेपाल भलिबल संघले काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, पदाधिकारीहरू तथा खेलकुदप्रेमीहरूको उपस्थिति रहेको थियो। उनीहरूले खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा प्रदान गरे।

टोलीमा १४ खेलाडी, ८ नयाँ अनुहार

टोलीको नेतृत्व हरिहजुर थापाले गर्नेछन्। हालै घोषणा गरिएको १४ सदस्यीय अन्तिम टोलीमा पुराना अनुभवी खेलाडीहरूसँगै नयाँ अनुहारहरूको पनि समावेश छ। कुल आठ जना नयाँ खेलाडी यसपटक राष्ट्रिय टोलीमा समावेश गरिएका छन्, जसले टिममा ऊर्जा र उत्साह थप्ने अपेक्षा गरिएको छ।

टोलीको मुख्य प्रशिक्षकमा भरत यादव रहेका छन् भने सहायक प्रशिक्षकको जिम्मेवारी उत्सव खड्काले लिएका छन्।

नेपालले पछिल्लो पटक सन् २०२३ मा श्रीलंकामा आयोजित काभा च्यालेन्ज कप मा सहभागिता जनाएको थियो। त्यसपछि नेपाली पुरुष टोलीले लामो अन्तरालपछि पुनः अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेको हो। यसले नेपाली भलिबलको पुनरागमनका रूपमा लिइएको छ।

छ देशबीच प्रतिस्पर्धा, नेपालमा आशा र भरोसा

प्रतियोगितामा नेपालसहित कुल ६ देश सहभागी हुँदैछन्। नेपाल भलिबल संघले टोलीबाट आशाजनक प्रदर्शनको अपेक्षा गरेको छ। संघका अनुसार नयाँ र पुराना खेलाडीहरूको मिश्रण भएको टोलीले प्रतिस्पर्धी खेल प्रस्तुत गर्ने विश्वास लिइएको छ।

भविष्यमा भलिबललाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय तहमा पु-याउन यस्ता प्रतियोगिताहरू प्रभावकारी हुने संघको भनाइ छ। नेपाली टोलीको सूची: हरिहजुर थापा (कप्तान)धन बहादुर भट्ट, विनोद चन्द, धिरोजकाजी बस्नेत, सरन सामरी क्षेत्री ,सफल विक, अर्जुन नेपाली, रविन नगरकोटी, पहल गहतरात, सन्तोष राई, सुनिल बोहरा, सुजन सुनार, नृपध्वज बस्नेत र शैलेन्द्र यादव रहेछन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ