
काठमाडौं, कात्तिक १ गते ।

मस्कट (ओमान) — आवासीय नेपाली सामाजिक क्लब ओमानले आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता रवि महर्जनलाई विशेष सम्मान गरेको छ।

नेपालको राष्ट्रिय क्रिकेट टोलीले च्याम्पियन बनेको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट हेर्नका लागि ओमान पुगेका बेला शुक्रबार एक कार्यक्रमबीच महर्जनलाई सम्मान गरिएको हो।
कार्यक्रममा क्लबका अध्यक्ष सुरेश खड्का, प्रमुख संरक्षक बिकल झा, महासचिव विनोद श्रेष्ठ, र प्रवक्ता राजेश महर्जनले महर्जनलाई दोसल्ला, प्रशंसा–पत्र र स्मृतिचिन्ह अर्पण गरेका थिए।
महर्जनले सन् १९९९ मा भएको आठौं सागमा करातेमा स्वर्ण पदक जितेका थिए। हाल उनी बागमती प्रदेश खेलकुद परिषद्का सदस्य र नेपाल कराते महासंघका सदस्यका रूपमा खेल प्रशासनमा सक्रिय छन्।
क्लबका पदाधिकारीहरूले खेल जीवनपश्चात व्यवस्थापकका रूपमा जिम्मेवारी निर्वाह गर्दै खेलकुदको समग्र विकासमा योगदान पुर्याइरहेको भन्दै महर्जनप्रति प्रशंसा व्यक्त गरे। साथै, ओमानस्थित नेपाली समुदायले पनि भविष्यमा खेलकुदको प्रवर्द्धन र सहयोगका लागि निरन्तर साथ दिने प्रतिबद्धता जनाएको क्लबले जनाएको छ।
