
काठमाडौं, असोज ३१ गते।
नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले नयाँ कप्तान पाएको छ। त्रिभुवन आर्मी क्लबका सेटर हरि हजुर थापालाई बंगलादेशमा हुने काभा मेन्स नेसन्स कप भलिबलका लागि कप्तानमा नियुक्त गरिएको छ।
नेपाल भलिबल संघको शुक्रबार बसेको ५८औं कार्यसम्पादन समितिको बैठकले मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकको सिफारिसअनुसार थापालाई कप्तानमा चयन गरेको हो।
दोस्रो पटक राष्ट्रिय टोलीको कप्तान बनेका थापाले यसअघि सन् २०२३ (वि.सं. २०८०) मा पनि नेपालका लागि नेतृत्व सम्हालेका थिए। त्यही वर्ष भएको प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला राष्ट्रिय क्लब लिगको क्रममा गण्डकीविरुद्धको खेलपछि उनी “कर्तव्यबाट विमुख भएको” आरोपमा कप्तान पदबाट हटाइएका थिए।
संघले पुनः नेतृत्व जिम्मेवारी थापालाई दिएको छ। उनको अनुभव र प्रदर्शनका कारण टिम व्यवस्थापनले उनलाई उपयुक्त कप्तानका रूपमा देखेको बताइएको छ।
राष्ट्रिय टोलीमा अहिले थापासँगै धनबहादुर भट्ट सिनियर खेलाडीका रूपमा रहेका छन्।
यसअघिका कप्तान मानबहादुर श्रेष्ठले २०८० कात्तिकमा सन्यास लिएपछि पुरुष टोली कप्तानविहीन बनेको थियो। पछिल्ला दुई वर्षमा नेपालले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको कारण नयाँ कप्तान चयन हुन सकेको थिएन।
अब भने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने तयारीसँगै नयाँ नेतृत्व चयन गरिएको हो।
यू–१९ महिलातर्फ जेनिशा विकला कप्तान
यस्तै, श्रीलंकामा हुने काभा यू–१९ महिला भलिबल प्रतियोगिताका लागि जेनिशा विकलालाई कप्तानमा चयन गरिएको नेपाल भलिबल संघले जनाएको छ। उनले गत वर्ष माल्दिभ्समा भएको काभा यू–२० महिला भलिबलमा पनि नेपालका लागि कप्तानी गरेकी थिइन्।
नेपाली कप्तानीको ऐतिहासिक पृष्ठभूमि
नेपालले पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सन् १९९६ मा पाकिस्तानमा आयोजित काइदे आजम कपमा खेलेको थियो, जसमा ऋषिराज आचार्य पहिलो कप्तान बनेका थिए।
त्यसपछि दीपक सापकोटा, महेन्द्र लाल श्रेष्ठ, राजेश मास्के, सुनिल चौधरी, विष्णु मास्के, भरत बहादुर शाह, कैलाश दत्त भट्ट र इम रानले क्रमशः नेपालको कप्तानी गरेका छन्।
नेपालका लागि सबैभन्दा लामो समय कप्तानी गर्ने खेलाडी भरत बहादुर शाह हुन् — उनले १६ वर्षसम्म राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए।
काइदे आजमपछि सन् १९७७ मा चीन भ्रमणका क्रममा हरिहर श्रेष्ठलाई कप्तान तोकिए पनि चीन पुगेपछि रेशम गुरुङले प्रदर्शनी खेलमा कप्तानी गरेका थिए।