
काठमाडौं, असोज २७ गते।
विदेशी भूमिमा नेपालको खेल प्रतिनिधित्व गरेका नेपाली टेबलटेनिस खेलाडीलाई एनआरएनए वेस्टर्न अष्ट्रेलियाले विशेष सम्मान गरेको छ। अष्ट्रेलियाको पर्थमा सम्पन्न डब्लुटीटी युथ कन्टेन्डर प्रतियोगितामा सहभागिता जनाएका तीन खेलाडी, प्रशिक्षक र टोली व्यवस्थापकसहित पाँच जनालाई सम्मान गरिएको हो।

अक्टोबर ८ देखि ११ तारिखसम्म चलेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको प्रतिनिधित्व गरेका खेलाडी आर्यन शाही, प्राज्ना महर्जन र सुरम्या शाक्यलाई सम्मान गरिएको हो। साथै, टोलीका प्रशिक्षक राकेश महर्जन र अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष तथा टोली व्यवस्थापक ज्याकी महर्जन पनि सम्मानित सूचीमा परेका छन्।
उनीहरूलाई एनआरएनए वेस्टर्न अष्ट्रेलियाका स्टेट को–ओर्डिनेटर हरिवंश सन्जेल, एनआरएनए वेस्टर्न अष्ट्रेलियाका अध्यक्ष नवीन भण्डारी, नेपाली एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलियाका पूर्व अध्यक्ष आङ दावा शेर्पा र पूर्व नेपाल टेबलटेनिस च्याम्पियन अजय सुवालले एक विशेष समारोहका बीच सम्मान गरेका थिए। कार्यक्रममा उपस्थित वक्ताहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरू देशका गौरव भएको बताउँदै उनीहरूको भविष्यमा अझ राम्रो प्रदर्शनको शुभकामना व्यक्त गरे।
यससँगै नेपाली टेबलटेनिस टोली अब अक्टोबर १४ देखि १८ तारिखसम्म थाइल्यान्डमा आयोजना हुने टेबलटेनिस प्रशिक्षण शिविरमा सहभागी हुने तयारीमा छ। उक्त शिविरले खेलाडीहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन क्षमतालाई थप निखार्ने विश्वास लिइएको छ।
