
काठमाडौं, असोज २६ गते।
अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ऐतिहासिक सफलता दिलाएकी नेपाल प्रहरीकी प्रतिभावान् कराते खेलाडी एरिका गुरुङलाई नेपाल प्रहरी श्रीमती संघले नगदसहित सम्मान गरेको छ।

गत असोज १७ देखि १९ सम्म मलेसियामा सम्पन्न डब्लुकेएफ कराते वान सिरिज ‘ए’ प्रतियोगितामा एरिकाले नेपालको इतिहासमै पहिलो पटक स्वर्ण पदक जितेकी थिइन्। नेपालका लागि यो अन्तर्राष्ट्रिय स्तरको करातेमा अभूतपूर्व उपलब्धि मानिएको छ।
संघले आइतबार भृकुटीमन्डपस्थित आफ्नो कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी एरिकालाई रु. २५ हजार ५५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरेको हो।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेकी थिइन्।
सोही अवसरमा संघले नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक एवम् १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई पनि विशेष सम्मान प्रदान गरेको थियो।
नेपाल पुलिस क्लबकी खेलाडी एरिकाले उक्त प्रतियोगिताको कुमिते ६८ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्दै स्वर्ण जितेकी हुन्।
उनले सेमिफाइनलमा चेक रिपब्लिककी हाकोभा अमालीलाई ७–० ले पराजित गरेकी थिइन् भने फाइनलमा ट्युनिसियाकी मसाक्नी टेस्निमलाई २–० ले हराउँदै स्वर्ण आफ्नो नाममा लेखेकी थिइन्।
प्रतियोगिताको क्रममा उनले पोल्यान्डकी डेनिस्जेवस्का जुलिया लगायतका प्रतिस्पर्धीलाई पनि पछि पार्दै फाइनलसम्मको यात्रा तय गरेकी थिइन्।
एरिकाको यो जितले नेपालको कराते खेलमा नयाँ अध्याय लेखेको छ। अन्तर्राष्ट्रिय स्तरमा कराते वान सिरिज ‘ए’ मा स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन्, जसले नेपालको गौरव अन्तर्राष्ट्रिय मञ्चमा पुनः उजागर गरेको छ।
