अष्ट्रेलियाको विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका दुई बक्सरको सहभागिता

काठमाडौं, असोज २५ गते।
नेपालका दुई प्रतिभावान बक्सर उमंग खत्री र अजित मगर अष्ट्रेलियाको ब्रिसबेनमा हुने विश्व बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाँदै छन्। उक्त प्रतियोगिता अक्टोबर १५ देखि १९ सम्म सञ्चालन हुनेछ।

नेपाल प्रोफेसनल बक्सिङ कमिसन (एनपीबीसी) का अध्यक्ष राजन विक्रम प्रजापतिले हिजो शुक्रबार एक कार्यक्रमका बीच दुवै खेलाडीलाई बिदाइ गरे। उनले नेपाली बक्सरहरू अब दक्षिण एसियाली सीमितताबाट बाहिर निस्केर अमेरिका, युरोप र अष्ट्रेलिया जस्ता ठूला महादेशमा पनि व्यावसायिक स्तरमा प्रतिस्पर्धा गर्न थालेको उल्लेख गरे।
उनका अनुसार, “नेपाली खेलाडीहरूमा क्षमताको कमी छैन। अन्तर्राष्ट्रिय स्तरमा निरन्तर अवसर मिल्ने हो भने उनीहरूले विश्वस्तरको प्रदर्शन गर्न सक्छन्।”

त्यस अवसरमा ललितपुर जिल्ला खेलकुद समितिका अध्यक्ष विनोद महर्जनले पनि खेलाडीहरूलाई खादा लगाई शुभकामना दिँदै बिदाइ गरे।
आगामी प्रतियोगितामा ललितपुरका उमंग खत्री ५१ केजी तथा उदयपुरका अजित मगर ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन्।

ललितपुर जिल्ला बक्सिङ संघका अध्यक्ष ओमनारायण श्रेष्ठ, पूर्वअध्यक्ष तथा राष्ट्रिय खेलाडी गोविन्द डंगोल लगायतले दुवै खेलाडीका लागि आर्थिक सहयोग गरेका छन्। उनीहरूको प्रशिक्षण जिम्मा प्रशिक्षक म्याक्स बस्नेतले लिने छन्।

अष्ट्रेलिया पुगेपछि म्याक्स बक्सिङ प्रमोशनका निर्देशक मुक्ति थापा र अन्तर्राष्ट्रिय संयोजक विपिन कार्कीले खेलाडीहरूको आवास र सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी वहन गर्नेछन्।

एनपीबीसीका महासचिव सविन कार्कीका अनुसार, प्रतियोगिता सम्पन्न भएपछि दुवै खेलाडीले अष्ट्रेलियाका विभिन्न क्लबहरूमा दुई महिनाको विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्। यसले उनीहरूको अनुभव, फिटनेस र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउने अपेक्षा गरिएको छ।

नेपाल बक्सिङका लागि यो सहभागिता एक महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यस्ता सहभागिताले खेलाडीको मनोबल मात्र होइन, नेपालको बक्सिङ इतिहासमा नयाँ अध्याय थप्ने विश्वास खेलकुद समुदायले व्यक्त गरेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ