महिला राष्ट्रिय क्रिकेट टिमका लागि क्यानले विदेशी मुख्य प्रशिक्षक खोज्दै, आवेदन खुला

काठमाडौं, असोज २५ गते।
नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षक पदमा आवेदन आह्वान गरेको छ। क्यानले यो पदका लागि विदेशी प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको हो।

क्यानका सचिव पारस खड्काका अनुसार महिला टिमको प्रदर्शन सुधार र आगामी ठूला प्रतियोगितालाई लक्षित गर्दै विदेशी प्रशिक्षक खोज्ने निर्णय गरिएको हो। उनले भने, “महिला क्रिकेटका लागि विदेशी प्रशिक्षक अनुबन्ध गर्नका लागि भ्याकेन्सी खुलाइएको हो। सिनियर टिमको टी–२० विश्वकप ग्लोबल क्वालिफायर र यू–१९ विश्वकप छनोटलाई ध्यानमा राख्दै यो प्रक्रिया अघि बढाइएको हो।”

क्यानले जारी गरेको सूचनाअनुसार, प्रशिक्षक पदका लागि आवेदन दिने उम्मेदवारसँग ईसीबी (इङ्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड) वा सीए (क्रिकेट अष्ट्रेलिया) लेभल–३ अथवा सो सरहको प्रमाणपत्र हुनुपर्छ। साथै, कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेट प्रशिक्षण अनुभव अनिवार्य गरिएको छ।

नयाँ प्रशिक्षकले राष्ट्रिय टिमको प्रदर्शन सुधार गर्नुका साथै सहयोगी स्टाफको नेतृत्व गर्ने, दीर्घकालीन प्रतिभा पहिचान र विकास कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पाउनेछन्। साथै, नेपाली क्रिकेटको संरचना, महिला क्रिकेटको संस्कृति र खेलाडी विकासको गहिरो बुझाइ हुने उम्मेदवारलाई प्राथमिकता दिइनेछ। अंग्रेजी भाषामा दक्षता पनि आवश्यक योग्यता मानिएको छ।

चयन हुने प्रशिक्षकलाई नेपालमा पूर्ण बोर्ड आवास, प्रतिस्पर्धात्मक तलब, र टिम भ्रमण खर्चको व्यवस्था हुने क्यानले जनाएको छ। इच्छुक उम्मेदवारले आफ्नो सीभी र पोर्टफोलियो २०२५ अक्टोबर २५ भित्र नेपाल क्रिकेट संघमा बुझाइसक्नुपर्नेछ।

नेपाली महिला क्रिकेट टिम आगामी सन् २०२६ जनवरीमा नेपालमै हुने महिला टी–२० विश्वकप ग्लोबल छनोटमा सहभागिता जनाउँदैछ। त्यसैका लागि तयारी स्वरूप क्यानले यो निर्णयलाई प्राथमिकताका रूपमा लिएको बताइएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ