इजिप्ट सन् २०२६ को फिफा विश्वकपका लागि छनोट हुने तेस्रो अफ्रिकी टोली

काठमाडौं, असोज २३ गते ।
लार्बी जाउली रंगशाला, अफ्रिका —सन् २०२६ मा अमेरिका, क्यानाडा र मेक्सिकोको संयुक्त आयोजनामा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि इजिप्ट छनोट भएको छ। अफ्रिकन छनोट चरणको समूह ‘ए’ अन्तर्गत बुधबार राति डिजिबुटीमाथि ३–० को सानदार जित दर्ता गर्दै इजिप्टले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो।

कप्तान मोहम्मद सलाहको दोहोरो गोलले जित पक्का

लार्बी जाउली रंगशालामा सम्पन्न खेलमा इजिप्टले एकपक्षीय प्रदर्शन गऱ्यो।
खेलको ८औँ मिनेटमै इब्राहिम एडेलले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि कप्तान मोहम्मद सलाहले १४औँ र ८४औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई सहज जित दिलाए।
डिजिबुटी खेलभरि इजिप्टको दबाबमा रहे र उल्लेखनीय अवसर सिर्जना गर्न असफल रह्यो।

समूह ‘ए’ मा इजिप्ट शीर्ष स्थानमा

यस जितसँगै इजिप्टले ९ खेलमा २३ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा स्थान पक्का गरेको छ। दोस्रो स्थानमा रहेको सियरा लियोनभन्दा इजिप्ट ५ अंकले अघि रहेको छ। समूह चरणमा सबै टोलीले अब १–१ खेलमात्र बाँकी राखेका छन्।

चौथो पटक विश्वकपमा इजिप्टको सहभागिता

इजिप्टले इतिहासमा चौथो पटक फिफा विश्वकपमा सहभागिता जनाउने पक्का गरेको हो।
यसअघि उसले सन् १९३४, १९९० र २०१८ मा विश्वकप खेलेको थियो। अब सन् २०२६ मा चौथो पटक विश्व मञ्चमा उपस्थिति जनाउनेछ।

इजिप्ट विश्वकपमा छनोट हुने तेस्रो अफ्रिकी टोली

इजिप्ट अफ्रिकाबाट विश्वकपमा छनोट हुने तेस्रो टोली बनेको छ।
यसअघि मोरोक्को र ट्युनिसियाले अफ्रिकाबाट छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरिसकेका छन्।
समग्रमा इजिप्ट १९औँ देश बनेको छ जसले सन् २०२६ को फिफा विश्वकपमा सहभागिता सुनिश्चित गरेको छ।

सन् २०२६ को फिफा विश्वकप: नयाँ ढाँचा र अधिक टोली

सन् २०२६ को विश्वकप इतिहासमै पहिलो पटक ४८ टोलीको सहभागितामा आयोजना हुँदैछ।
जुन ११ देखि जुलाई १९, २०२६ सम्म हुने प्रतियोगिता तीन देश—अमेरिका, क्यानाडा र मेक्सिको—द्वारा संयुक्त रूपमा आयोजना हुँदैछ।

छनोट भइसकेका देशहरू

अबसम्म सन् २०२६ को विश्वकपका लागि छनोट भइसकेका देशहरू यस्ता छन्:

अफ्रिका (CAF):

मोरोक्को

ट्युनिसिया

इजिप्ट

एसिया (AFC):

अस्ट्रेलिया

जापान

दक्षिण कोरिया

जोर्डन

उज्वेकिस्तान

इरान

दक्षिण अमेरिका (CONMEBOL):

अर्जेन्टिना

ब्राजिल

कोलम्बिया

इक्वेडर

उरुग्वे

पाराग्वे

एसिया–प्यासिफिक (OFC):

न्युजिल्यान्ड

आयोजक (CONCACAF):

अमेरिका

क्यानाडा

मेक्सिको

विश्वकपमा थप टोली छनोट प्रक्रिया अझै जारी छ र आगामी महिनाहरूमा बाँकी स्थानहरू भरिने छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ