
काठमाडौं, असोज २२ — हालै मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लुकेएफ कराते वान सिरिज प्रतियोगितामा ऐतिहासिक स्वर्ण पदक जितेकी ‘हिमालयन वारियर’ एरिका गुरुङलाई नेपाल शितोरियो कराते संघले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।
संघका अध्यक्ष दावा गुरुङले एरिकालाई १ लाख रुपैयाँ, र उनको प्रशिक्षक कुशल श्रेष्ठलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल कराते संघले जानकारी गराएअनुसार, यो सम्मान समारोह छिट्टै आयोजना गरिनेछ।
ऐतिहासिक उपलब्धि : अन्तर्राष्ट्रिय स्तरमा नेपालकाे गौरव
प्रतियोगितामा एरिकाले ६८ केजीमाथिको तौल समूह अन्तर्गतको फाइनल खेलमा ट्युनिसियाकी साक्नी तेस्निमलाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्। यो पदकसँगै एरिकाले नेपाली कराते खेलको इतिहासमा पहिलो पटक डब्लुकेएफ कराते वान सिरिजमा स्वर्ण पदक जित्ने कीर्तिमान कायम गरेकी छिन्।
संघको प्रशंसा र शुभकामना
नेपाल शितोरियो कराते संघले एरिकाको यो ऐतिहासिक सफलता नेपाली खेलकुदका लागि गौरवको विषय भएको बताएको छ। संघले विज्ञप्तिमार्फत एरिका गुरुङ र प्रशिक्षक श्रेष्ठलाई शुभकामना र बधाई दिंदै भविष्यमा अझ उच्च सफलताका लागि प्रेरित भएको जनाएको छ।
संघले कराते खेलमा यस्ता ऐतिहासिक उपलब्धिहरूले नयाँ पुस्ताका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न हौसला दिने विश्वास पनि व्यक्त गरेको छ।
