
काठमाडौँ, असोज २० गते।
दक्षिण एसियाली फुटबल महासंघ (SAFF) द्वारा आयोजना गरिने साफ महिला क्लब च्याम्पियनसिप २०२५ को आधिकारिक खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिता आगामी डिसेम्बर ५ देखि काठमाडौंस्थित दशरथ रंगशालामा सुरु हुने भएको हो।

साफले सोमबार खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेलमा पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीच प्रतिस्पर्धा हुने जानकारी दिएको छ। उद्घाटन खेलकै दिन नेपालको प्रतिनिधि एपीएफ फुटबल क्लबले बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमी विरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ।
पाँच देशका टोली प्रतिस्पर्धामा
प्रतियोगितामा दक्षिण एशियाका पाँच देशका क्लबहरू सहभागी हुनेछन्:
बंगलादेश – नस्रिन स्पोर्ट्स एकेडेमी
भुटान – ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी
भारत – इस्ट बंगाल एफसी
नेपाल – एपीएफ फुटबल क्लब
पाकिस्तान – कराँची सिटी एफसी
साफले यस प्रतियोगितालाई महिला क्लब फुटबलको क्षेत्रमा ऐतिहासिक कदमको रूपमा लिएको बताइएको छ।
राउन्ड रोबिन फर्म्याटमा खेल हुनेछ
च्याम्पियनसिप राउन्ड रोबिन लिग प्रणालीमा खेलाइनेछ, जसमा सबै टोलीले एक-अर्कासँग खेल्नेछन्। लिग चरणपछि शीर्ष २ स्थानमा रहने टोलीबीच फाइनल खेलमार्फत उपाधिको निर्णय हुनेछ।

एपीएफको चुनौती
नेपालको एपीएफ क्लब महिला फुटबलमा बलियो पहिचान बनाइसकेको टोली हो। घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएको एपीएफले घरेलु दर्शकको समर्थनमा साफ च्याम्पियन बन्ने लक्ष्य राखेको छ।
