नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता एक खेल अगावै उपाधि

काठमाडौं, असोज १४ गते ।
नेपालले वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै उपाधि हात पारेको छ। संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा गएराति सम्पन्न दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो।

यसअघि पहिलो खेलमै नेपालले वेस्ट इन्डिजलाई हराउँदै सनसनीपूर्ण जित निकालेको थियो। लगातार दुई खेलमा विजय हासिल गरेपछि नेपालले शृङ्खलामा अपराजित रहँदै उपाधि सुरक्षित गरेको हो।

खेलको समीकरण

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १७३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्‍यो। नेपालको जितमा ओपनर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा आठ चौका र दुई छक्कासहित अविजित ६८ रनको योगदान गरे। त्यस्तै, सन्दीप जोराले पनि आक्रामक ब्याटिङ गर्दै ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ रन जोडे। मोहम्मद आदिल आलमले थप ११ रन बनाए।

बलिङतर्फ वेस्ट इन्डिजका कप्तान अकिल होसेन र कायल मायर्सले समान दुई-दुई विकेट लिएका थिए भने जेडिया ब्लेड्सले एक विकेट हात पारे।

वेस्ट इन्डिजको कमजोर जवाफ

१७४ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भयो। टोलीका तीन खेलाडी बाहेक अन्यले दोहोरो अंक समेत छुने प्रयास गर्न सकेनन्।
जेसन होल्डरले १५ बलमा दुई छक्कासहित सर्वाधिक २१ रन जोडे भने एकिम अगष्टले १७ रन र अमिर जांगोले १६ रन बनाए।

नेपालको बलिङ आक्रमणमा आदिल आलमले घातक प्रदर्शन गर्दै चार विकेट झारे। त्यसैगरी कुशल भुर्तेलले तीन विकेट हात पार्दा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए।

ऐतिहासिक उपलब्धि

यस जितसँगै नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिज जस्तो बलियो टोलीविरुद्ध लगातार दोस्रो जित निकाल्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। एक खेल अझै बाँकी रहँदा शृङ्खला आफ्नै नाममा पार्नु नेपाल क्रिकेटको सबल यात्राको अर्को महत्वपूर्ण पाना बनेको छ।

अब नेपालले शृङ्खलाको अन्तिम खेलमा वेस्ट इन्डिजसँग भेट्नेछ, जुन खेल नेपाली टोलीका लागि आत्मविश्वास प्रदर्शन गर्ने अर्को अवसर हुनेछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ