
असोज १२ गते ।

सुनमाया बुढाले विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा दोस्रो स्थान हात पारेकी छिन् । स्पेनको क्यान फ्रान्कमा भएको प्रतियोगितामा सुनमायाले ८१ किलोमिटरको लामो दूरीको ट्रेल रनमा दोस्रो स्थान हात पारेकी हुन् ।
उनले निर्धारित दूरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गरिन् । सुनमाया पहिलो स्थान हात पारेकी अमेरिकी खेलाडी केटी शिम्ट भन्दा २६ मिनेटले पछि परिन् ।
तेस्रो संस्करणको विश्व माउन्टेन तथा ट्रेल रनिङमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व माउन्टेन रनिङ एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा पहिलो पटक विश्व एथ्लेटिक्स र इन्टरनेश्नल एसोसियसन अफ अल्ट्रा रनर्स मिलेर सहकार्य गरेका थिए । प्रतियोगितामा ८० देशका १ हजार ७ सय खेलाडी सहभागी थिए । जो अहिलेसम्मकै सबैभन्दा ठूलो सहभागिता भएको बताइएको छ ।
नेपाल एडभेन्टर रनिङ फेडेरेसनले नेपालबाट सुनमाया सहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई प्रतियोगितामा सहभागी गराएको थियो । ८२ किलोमिटर लङ ट्रेलमा सुमन ३२ औं स्थानमा र मनकुमार ३६ औ स्थानमा रहदै दूरी पार गरेका छन् ।
संघका अध्यक्ष एकेन्द्र कुँवरले नेपालले प्राप्त गरेको सफलता व्यक्तिगत मात्र नभएर नेपाली ट्रेल रनिङको विश्वस्तरीय उपस्थिति र सम्भावनालाई उजागर गरेको बताएका छन् ।
