
काठमाडौं, असोज ११ गते ।
जर्मन बुंडेसलिगामा इंग्लिस स्ट्राइकर ह्यारी केनले फेरि चम्किलो प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । उनको दुई गोलको मद्दतले बायर्न म्युनिकले शुक्रबार राति भएको खेलमा वेडर ब्रेमनलाई ४–० ले पराजित गर्यो ।

यो जितसँगै बायर्नले यस सिजनको शतप्रतिशत सुरुआत कायम राखेको छ । लगातार पाँच खेलमा जित दर्ता गरेको बायर्नको जम्मा १५ अंक भएको छ ।
खेलमा केनले ४५ औं र ६५ औं मिनेटमा गोल गरेका थिए । यी दुई गोलसँगै उनले बायर्न म्युनिकका लागि व्यक्तिगत १०० गोल पुरा गरेका छन् । विशेष कुरा के भने उनले यो उपलब्धि जम्मा १०४ खेलमै हासिल गरेका हुन् ।
युरोपका प्रमुख पाँच लिगमध्ये १०० गोल पुर्याउन सबैभन्दा कम खेल खेलेर कीर्तिमान कायम गर्ने खेलाडीमा केन पहिलो बनेका छन् । यसअघि क्रिस्टियानो रोनाल्डो र इर्लिङ हालान्डले १०५ खेल खेलेर मात्रै १०० गोल पुर्याएका थिए ।
यस सिजनको बुंडेसलिगामा पनि केन अद्भुत फर्ममा रहेका छन् । उनले अहिलेसम्मका प्रत्येक खेलमा औसत दुई गोल गर्दै बायर्नको आक्रमणलाई धारिलो बनाएका छन् । उनको यो प्रदर्शनसँगै बायर्नलाई घरेलु लिग मात्र नभई युरोपेली प्रतियोगितामा पनि बलियो दाबेदारको रूपमा हेरिएको छ ।
फुटबल पण्डितहरूका अनुसार, केनको गोल गर्ने निरन्तरताले उनलाई आगामी महिनामा हुने युरोपेली प्रतियोगिता तथा व्यक्तिगत अवार्डका प्रमुख दावेदार बनाएको छ ।
