
काठमाडौं, असोज ११ गते ।
यूएईमा जारी एसिया कप क्रिकेटमा शुक्रबार राति भएको सुपर फोरको अन्तिम खेल रोमाञ्चक मोडमा टाई भएपछि सुपर ओभरमा पुगेको थियो । त्यसमा भारतले सहजै जित निकाल्दै अपराजित यात्रा कायम गरेको छ ।

हाइ स्कोरिङ भिडन्तमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेटको क्षतिमा २०२ रनको बलियो योगफल तयार गर्यो । भारतका ओपनर अभिषेक शर्माले शानदार ६१ रन बनाए भने तिलक वर्मा ४९ रनमा अविजित रहे । विकेटकिपर ब्याटर सन्जु सामसनले पनि ३९ रन जोडी टोलीलाई ठूलो स्कोरतर्फ डोर्याए । श्रीलंकाका महीश थिक्साना, दुश्मान्था चमीरा, वानिन्दु हसरंगा, दशुन शनका र चरिथ असलंकाले समान १-१ विकेट लिएका थिए ।
२०३ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको श्रीलंका पनि निकै मजबुत देखियो । ओपनर पथुम निसान्काले एसिया कपकै पहिलो शतक प्रहार गर्दै १०७ रनको उत्कृष्ट पारी खेले । उनले कुसल परेरासँग दोस्रो विकेटका लागि १२७ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । परेराले ५८ रन बनाए भने कप्तान दशुन शनका २२ रनमा अविजित रहे । तर, अन्तिम ओभरसम्म खेल रोमाञ्चक बनाइए पनि श्रीलंका २० ओभरमा पाँच विकेट गुमाएर २०२ रनमै रोकियो र खेल बराबरीतर्फ गयो ।
सुपर ओभरमा श्रीलंकाले मात्र ३ रन जोड्दा भारतले पहिलो बलमै लक्ष्य पूरा गर्दै जित सुनिश्चित गर्यो । भारतीय बलिङतर्फ हार्दिक पान्ड्या, अर्शदीप सिंह, हर्षित राना, कुलदीप यादव र वरुण चक्रवर्तीले समान १-१ विकेट हात पारे ।
यस नतिजासँगै सुपर फोर चरणमा श्रीलंका जितविहीन रहँदै बाहिरिएको छ भने भारत अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ ।
अब आइतबार हुने बहुप्रतिक्षित उपाधि भिडन्तमा भारत र पाकिस्तान आमनेसामने हुनेछन्, जसलाई एसिया र विश्वभरका क्रिकेट प्रेमीले विशेष चासोका साथ हेर्ने अपेक्षा गरिएको छ ।
