
काठमाडौं ,असोज गते।

भारतीय क्रिकेट इतिहासका एक सफल स्पिनर तथा हालै अन्तर्राष्ट्रिय क्रिकेट र आईपीएललाई विदा गरेका रविचन्द्रन अश्विनले पुनः एकपटक क्रिकेट दुनियाँको ध्यान तानेका छन्। उनले आगामी अक्टोबर १ मा दुबईमा आयोजना हुने पहिलो संस्करणको आईएलटी–२० अक्सनमा सहभागी हुँदै आफ्नो बेस प्राइस १ लाख २० हजार अमेरिकी डलर तोकेका छन्। यो रकम अक्सनमा सूचीकृत सबै खेलाडीमध्ये सबैभन्दा उच्च हो।
३९ वर्षीय अश्विनले अक्सन अघि आफू पूरा सिजन उपलब्ध रहने स्पष्ट पारेका छन्। अक्सनमा कुनै टिमले उनलाई अनुबन्ध गर्ने हो भने, यो पहिलोपटक उनी विदेशी फ्रेन्चाइज टी–२० लिगमा खेल्ने अवसर पाउनेछन्। यसअघि उनले आईपीएलमार्फत मात्र फ्रेन्चाइज क्रिकेट खेलेका थिए।
अहिलेसम्म अक्सनको प्रारम्भिक सूचीमा झण्डै ८ सय खेलाडी समावेश भएका छन्, जसमा २४ जना भारतीय खेलाडी पनि छन्। तर अन्तिम सूची भने फ्रेन्चाइजहरूले पठाउने इच्छा–सूचीअनुसार यसै साताभित्र तयार पारिनेछ।
आईएलटी–२० को चौथो संस्करण आगामी डिसेम्बर २ देखि जनवरी ४ सम्म हुने तय भएको छ। यसअघि नै फ्रेन्चाइजहरूले जुलाई महिनामै आफ्ना खेलाडी कायम राख्ने र प्रत्यक्ष साइनिङ गर्ने प्रक्रिया पूरा गरिसकेका छन्। अक्सनका लागि प्रत्येक टिमलाई अधिकतम २ मिलियन अमेरिकी डलरसम्म खर्च गर्ने अनुमति छ भने न्यूनतम १.५ मिलियन खर्च गर्नैपर्ने नियम तोकिएको छ। साथै, अतिरिक्त २.५ लाख डलर प्रयोग गरेर टिमहरूले अक्सन बाहिरबाट दुई जना वाइल्डकार्ड खेलाडी समेत लिन सक्ने सुविधा पाउनेछन्।
प्रतियोगितामा सहभागी टिमहरूको स्क्वाड संरचना पनि स्पष्ट पारिएको छ। प्रत्येक टिममा १९ देखि २१ खेलाडी अनिवार्य हुनुपर्नेछ। तीमध्ये कम्तीमा ११ जना पूर्ण सदस्य राष्ट्रका हुनुपर्छ भने ४ जना युएईका, १ जना कुवेतका, १ जना साउदी अरबका र २ जना अन्य एसोसिएट राष्ट्रका खेलाडी समावेश गर्नुपर्नेछ।
साथै, युएई क्रिकेटलाई प्रोत्साहन गर्ने उद्देश्यले टिमहरूले आफ्ना चर्चित युएई खेलाडीलाई ‘राइट टु म्याच’ कार्डमार्फत पुनः अनुबन्ध गर्ने विशेष सुविधा पाउने प्रावधानसमेत राखिएको छ।
यसरी, आईएलटी–२० अक्सनमा अश्विनको उपस्थिति र उनको उच्च मूल्यले प्रतिस्पर्धालाई थप रोचक बनाउने निश्चित देखिएको छ। अब सबैको नजर अक्सनतर्फ केन्द्रित छ, जहाँ अश्विनजस्ता विश्वस्तरीय खेलाडी कसले अनुबन्ध गर्छ भन्ने कुराले क्रिकेटसम्बन्धी बहसलाई चर्काउने पक्का छ।
