एशिया कप टी–२० : भारतले पाकिस्तानमाथि रोमाञ्चक जित दर्ता गर्दै सुपर–४ मा बलियो सुरुवात

काठमाडौ ,असोज ६ गते।
दुबई – एशिया कप टी–२० क्रिकेटको सुपर–४ चरणको दोस्रो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई पराजित गरेको छ। गएराति सम्पन्न रोमाञ्चक भिडन्तमा भारतले पाकिस्तानलाई ६ विकेटले हराउँदै प्रतियोगितामा आफ्नो जित यात्रा अगाडि बढाएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७५ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। पाकिस्तानका ओपनर साहिबजादा फरहानले ५८ रनको दमदार अर्धशतक प्रहार गर्दै टोलीलाई सशक्त सुरुवात दिलाए। यस्तै साइम अयुब र मोहम्मद नवाजले समान २१–२१ रन जोडे। भारतीय बलिङतर्फ शिवम दुबले २ विकेट हात पारे भने हार्दिक हिमांशु पाण्डे र कुलदीप यादवले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको भारतले लक्ष्य सजिलै भेट्ने संकेत दिएको थियो। ओपनर अभिषेक शर्माले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ७४ रन प्रहार गरे। उनलाई शुभमन गिलले ४७ रनको महत्वपूर्ण योगदानसहित राम्रो साथ दिए। अन्तिमतिर तिलक वर्माले अविजित ३० रन जोड्दै टोलीलाई १८ ओभर ५ बलमै लक्ष्य पार गराए। पाकिस्तानका बलरहरूमध्ये हरिस रउफले २ विकेट लिए भने फहिम अशरफ र अबरार अहमदले एक–एक विकेट हात पारे।

यो जितसँगै भारतले सुपर–४ को अङ्कतालिकामा महत्त्वपूर्ण २ अङ्क जोडेको छ र फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।

यसैबीच, सुपर–४ अन्तर्गत अर्को खेलमा भोलि पाकिस्तान र श्रीलङ्का आमनेसामने हुँदैछन्। सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका छन्। नियमअनुसार सुपर–४ मा रहेका सबै टोलीले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोलीले उपाधि भिडन्त खेल्नेछन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ