
काठमाडौँ,असोज ६ गते ।

स्पेनी ला लिगामा बार्सिलोनाले आइतबार राति गेटोफेविरुद्ध ३–० को सानदार जित हात पार्दै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडलाई नजिकैबाट पछ्याइरहेको छ।
यो जितसँगै बार्सिलोना पाँच खेलपछि १३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा भने शतप्रतिशत जितसँगै रियल म्याड्रिड १५ अंकसहित कायम छ।
टोरेसको दोहोरो गोल
बार्सिलोनाका लागि फरान टोरेस निर्णायक साबित भए। उनले खेलको पहिलो हाफमै दुई गोल गर्दै टोलीलाई सहज जितको आधार तयार गरे। त्यसपछि डानी ओल्मोले थप एक गोल गर्दै क्याटलान क्लबको विजय पक्का गरे। बार्सिलोना खेलभरि आक्रामक रूपमा प्रस्तुत भएको थियो र गेटोफेलाई स्पष्ट रूपमा दबाबमा राखेको थियो।
एटलेटिकोको निराशाजनक प्रदर्शन
त्यसैदिन भएको अर्को खेलमा एटलेटिको म्याड्रिडको निराशाजनक यात्रा जारी रह्यो। रियल मालोर्काविरुद्ध घरेलु मैदानमा खेल्दा पनि टोली १–१ को बराबरीमा रोकियो।
एटलेटिकोका लागि महत्वपूर्ण क्षणमा जुलियन आल्भारेजले पेनाल्टी चुकाएका कारण टोलीले जित गुमाउनु पर्यो। परिणामस्वरूप, डिएगो सिमियोनको टोलीले पाँच खेलमा जम्मा ६ अंक मात्र बटुल्न सफल भएको छ र लिग तालिकामा १२औँ स्थानमा खस्किएको छ।
प्रारम्भिक नतिजाले बनाएको प्रतिस्पर्धा
ला लिगाको सुरुआती पाँच खेलमै रियल र बार्सिलोनाबीचको प्रतिस्पर्धा चर्किएको छ। रियलले अहिलेसम्म शतप्रतिशत जित हात पार्दै शीर्ष स्थान मजबुत बनाएको छ भने बार्सिलोना निरन्तर जितको यात्रासहित उसको पछ्याइरहेको छ।
यता, एटलेटिको म्याड्रिड भने आन्तरिक कमजोरी र गोल को कारण लिगको प्रारम्भिक चरणमै दबाबमा परेको छ।
आगामी हप्ताहरूमा यी तीन ठूला क्लबबीचको संघर्ष अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
