अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो ।
कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तीन वर्षअघि संघ र कामारुबीच २ वर्षे सम्झौता भएको थियो । सम्झौता अवधि गत वर्ष नै सकिए पनि आपसी सहमतिकै आधारमा पछिल्लो एक वर्षपछि प्रायोजन निरन्तरत भइरहेको बताइएको छ ।
नेपालको राष्ट्रिय खेल भलिबललाई पोशाक प्रायोजन गर्ने केल्मी पहिलो कम्पनी हो । नयाँ सम्झौता अनुसार हरेक वर्ष केल्मीले भलिबल संघलाई राष्ट्रिय तथा उमेर समूहका टोलीलाई आवश्यक पर्ने म्याच जर्सी सेट, अभ्यास जर्सी सेट, ट्राभलिङ टिसर्ट, ट्रयाकसुट, जुत्ता, झोला, क्याप, निप्याड, मोजा, ४ सय थान बल र १ सय थान नेट उपलब्ध गराउने कामारुका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले जानकारी दिए ।
यसअघि केल्मीले अनौपचारिक रुपमा नेपाली राष्ट्रिय भलिबल टोलीलाई सघाउँदै आएपनि आगामी दिनमा भने औपचारिक रुपमै अघि बढ्ने हिसाबले केल्मीसँग नयाँ सम्भौता गरिएको संघका अध्यक्ष चन्दले बताए । केल्मीले तीन वर्षमा भलिबल संघलाई उपलब्ध गराउने सामाग्रीको मुल्य करिब १ करोड रुपैयाँ बराबर रहने बताइएको छ । नयाँ सम्झौतासँगै यसअघि राष्ट्रिय खेलाडीको लागि जर्सी लगायतको खेल सामाग्री व्यवस्थापनमा भोग्दै आउनु परेको टाउको दुखाई र झन्झटबाट अब भने संघले विश्राम पाएको भन्दै चन्दले केल्मीलाई धन्यवाद दिए ।
