पुरुषोत्तमले आईएमलाई हराए, जिएमसँग पराजित

काठमाण्डौ, असोज ४ गते।

एलिस्ता (रुस) । रसियाको गणराज्य क्याल्मिकियास्थित राजधानी एलिस्तामा जारी प्रथम बुद्धिस्ट र्यापिड बुद्धिचाल प्रतियोगिता मा नेपाली खेलाडीहरूले सराहनीय प्रदर्शन गरिरहेका छन्।

‘स्पिरिट अफ धर्म’ भन्ने नारा दिइएको यो अन्तर्राष्ट्रिय चेस प्रतियोगिताको तेस्रो चरणमा नेपालका पुरुषोत्तम सिलवालले ग्राण्ड मास्टर (जीएम) स्जुजिरोभ सननसँग पराजय व्यहोरेका छन्। हंगेरियन मूलका शीर्ष स्तरका २५५० रेटेड जीएम स्जुजिरोभसँग सिलवालले कालो गोटीबाट चुनौतीपूर्ण खेल खेले पनि अन्ततः हार बेहोर्नुपर्‍यो।

यसअघि २१९८ रेटेड सर्टिफाइड मास्टर (सीएम) पुरुषोत्तमले उत्कृष्ट सुरुवात गरेका थिए। पहिलो चरणमा उनले थाइल्याण्डका १७०२ रेटेड नात्रादा काइववात्थालाई पराजित गरेका थिए भने दोस्रो चरणमा २४२३ रेटेड फिलिपिन्सका इन्टरनेसनल मास्टर (आईएम) नाभा रोडेरिकमाथि अप्रत्याशित जित निकाल्दै सबैको ध्यान तानेका थिए।

नेपालका अर्का खेलाडी शैलेन्द्र न्यौपानेले पनि प्रारम्भिक चरणमा राम्रो प्रदर्शन गरेका छन्। एमेच्योर वर्गका उनले पहिलो चरणमा फिलिपिन्सका नाभा रोमेलिनमाथि जित हात पारेका थिए। दोस्रो खेलमा भने रसियाका इर्गित अरिनासँग हार बेहोरे, तर तेस्रो चरणमा थाइल्याण्डका नात्रादालाई पराजित गरेर पुनः उत्कृष्ट फिर्ती दिएका छन्।

महिला खेलाडी सिन्दिरा जोशीले पनि सन्तोषजनक प्रदर्शन गरिरहेकी छिन्। १६३९ रेटेड उनले पहिलो खेलमा थाइल्याण्डका २२०० रेटेड एफएम कुलप्रोए थानोनसित हार ब्यहोरेकी थिइन्। तर दोस्रो चरणमा १८५० रेटेड फिलिपिन्सका नाभा मार्क एन्थोनि र तेस्रो चरणमा थान्त हेनलाई पराजित गर्दै महत्वपूर्ण अंक जोडिन्।

नेपालको समग्र प्रदर्शन

हालसम्म नेपाली टोलीले ६ अंक जोडेर एभरेज रेटिङका आधारमा दोस्रो स्थानमा उभिन सफल भएको छ। व्यक्तिगत रूपमा पुरुषोत्तमले २२२५, सिन्दिराले १८३२ र शैलेन्द्रले १६७८ रेटिङ पर्फमेन्स हासिल गरेका छन्। तीनै खेलाडीले समान २–२ अंक जोड्दै खेललाई निरन्तरता दिएका छन्।

आगामी चरणमा नेपाली चुनौती

१० हजार अमेरिकी डलर पुरस्कार कोष रहेको यो प्रतियोगिताको चौथो चरणमा नेपाली खेलाडीहरू रसियाका प्रतिस्पर्धीहरूसँग भिड्ने कार्यक्रम तय भएको छ।

छैटौं बोर्डमा सिन्दिरा जोशीले २३०९ रेटेड क्याल्मिकियाका उत्नासुनोभ अलेक्जेन्डरसँग खेल्नेछिन्।

सातौं बोर्डमा शैलेन्द्र न्यौपानेले २२७९ रेटेड टाइभाका एफएम छ्याङदिगर तामेरियनविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

आठौं बोर्डमा पुरुषोत्तम सिलवालले २०२२ रेटेड बुर्याटियाकी डब्ल्यू एफएम कोमिस्रोभा सोइगिनामाथि जित निकाल्ने लक्ष्य राखेका छन्।

आयोजना

काल्मिक सरकार, काल्मिक चेस फेडरेसन तथा मस्को क्षेत्रीय चेस फेडरेसनको संयुक्त आयोजनामा भइरहेको यो प्रतिष्ठित प्रतियोगितामा बौद्ध धर्म मान्ने मुलुकका खेलाडीहरू सहभागी छन्। नेपालका खेलाडीहरूको यसपटकको प्रदर्शनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रशंसनीय उपलब्धिको रूपमा हेरिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ