काठमाण्डौ, असोज ४ गते।

काठमाण्डौ – एशिया कप टी–२० क्रिकेट अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा हार बेहोरे पनि ओमानले उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान तानेको थियो।
भारतले टस हारेर पहिले ब्याटिङ गर्ने अवसर पाएको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै भारतले १८८ रनको बलियो योगफल तयार गर्यो। भारतका लागि विकेटकिपर ब्याटर सन्जु स्यामसनले ५६ रनको उत्कृष्ट इनिङ्स खेले भने अन्य मिडल अर्डर खेलाडीहरूले योगदान थपेका थिए।
जवाफमा १८९ रनको लक्ष्य पछ्याउन उत्रिएको ओमानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६७ रन मात्र बनाउन सक्यो। यद्यपि, ओमानका ब्याटरहरूले प्रभावशाली खेल देखाए। आमिर कलिमले ६४ रनको शानदान प्रदर्शन गरे भने हमाद मिर्जाले पनि अर्धशतकीय (५३ रन) योगदान दिए। ओमानले हार बेहोरे पनि उसका ब्याटरहरूले भारतीय बलिङ आक्रमणविरुद्ध आत्मविश्वासपूर्ण ब्याटिङ गरेका थिए।
खेलपछि भारतीय टोलीका कप्तान सूर्यकुमार यादवले ओमानले अविश्वसनीय प्रदर्शन गरेको उल्लेख गर्दै प्रशंसा गरेका छन्। उनका अनुसार, ओमान जस्तो उदाउँदो टोलीसँग खेल्दा भारतका खेलाडीले पनि थप चुनौतीपूर्ण अनुभव लिन पाएको बताए।
यस जितसँगै भारत समूह ‘ए’ मा अपराजित रहँदै सुपर–४ चरणमा प्रवेश गरेको छ। सोही समूहबाट पाकिस्तानले पनि सुपर–४ मा स्थान सुरक्षित गरेको छ। समूह ‘बी’ बाट भने श्रीलङ्का र बङ्गलादेशले सुपर–४ को यात्रा तय गरेका छन्।
सुपर–४ चरण आजदेखि सुरू हुँदैछ। पहिलो खेलमा श्रीलङ्का र बङ्गलादेश आमनेसामने हुनेछन् भने क्रिकेटप्रेमीहरूको निकै प्रतिक्षा रहेको भारत–पाकिस्तान खेल भोलि हुने तय भएको छ। सुपर–४ मा सबै टोलीले एक–अर्काविरुद्ध खेल्नेछन् र त्यसपछि फाइनलमा भिड्ने दुई टोलीको छनोट हुनेछ।
