नेपाल फुटबल खेलाडी संघको साधारण सभाले विधान पारित, पूर्वअध्यक्षलाई सम्मान


काठमाडौँ, असोज ३ गते।
काठमाडौँ — नेपाल फुटबल खेलाडी संघको वार्षिक साधारण सभाले नयाँ विधान पारित गर्दै संघलाई थप सुदृढ र समावेशी बनाउन महत्वपूर्ण निर्णयहरू गरेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा सम्पन्न सभाले विधान अनुमोदनसँगै रिक्त रहेका पदाधिकारी तथा सदस्यको मनोनयनसमेत अनुमोदन गरेको हो।

सभामा संघका अध्यक्ष विक्रम लामाले विधानमा गरिएको प्रमुख प्रावधानबारे जानकारी दिँदै ४५ वर्ष मुनिका खेलाडी मात्र साधारण सदस्य रहन सक्ने व्यवस्था गरिएको बताए। त्यस्तै, व्यवसायिक रुपमा प्रशिक्षणमा संलग्न खेलाडीले संघको सदस्यता लिन नपाउने प्रावधान पनि विधानमा उल्लेख गरिएको छ।

नयाँ विधानअनुसार ए, बी र सी डिभिजनका खेलाडीलाई समेत केन्द्रीय परिषद्मा मनोनयन गर्न सकिने व्यवस्था गरिएको छ। यसअघि भने केवल वरिष्ठ र कनिष्ठ राष्ट्रिय खेलाडीले मात्र सदस्यता लिन पाउने वैधानिक व्यवस्था थियो। विधान संशोधनपछि अब सबै खाले फुटबल खेलाडीलाई सदस्यता प्रदान गर्ने बाटो खुलेको संघले जनाएको छ।

संघले नयाँ सदस्यता खुला गर्दै एक महिनाभित्र फाराम भर्न आह्वान गरेको छ। यसले फुटबल खेलाडीको व्यापक प्रतिनिधित्व सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

पदाधिकारी मनोनयन

सभाले रिक्त पदाधिकारी र सदस्यहरूलाई मनोनयनसमेत गरेको छ।

उपाध्यक्ष : अन्जना राना मगर

महासचिव : अनन्त तामाङ

सदस्यहरू : रुपेश केसी, एरिक विष्ट र अन्जन विष्ट

पूर्वअध्यक्षलाई सम्मान

कार्यक्रमको उद्घाटन सत्रमा संघका पूर्वअध्यक्ष उपेन्द्रमान सिंह र राजेश मानन्धरलाई विशेष सम्मान गरिएको थियो। उनीहरूलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र खेलाडी संघका अध्यक्ष विक्रम लामाले संयुक्त रूपमा सम्मान गरेका हुन्।

सम्मान ग्रहण गर्दै सिंहले संघले विगतमा खेलाडीको खेल्न पाउने अधिकारका लागि राखेको दबाबको प्रशंसा गरे। उनले खेलाडीका पक्षमा निर्णय गराउन संघले खेलेको भूमिकालाई सकारात्मक कदमका रूपमा उल्लेख गरे।

त्यस्तै, एन्फा अध्यक्ष नेम्वाङले खेलाडी संघ चलायमान र सक्रिय रहेको उल्लेख गर्दै खेलाडीको हकहितका लागि यसले महत्वपूर्ण योगदान दिइरहेको बताए।

अध्यक्ष लामाको प्रतिबद्धता

संघका अध्यक्ष विक्रम लामाले संघ सधैं खेलाडीलाई पर्न सक्ने समस्या समाधानमा अग्रसर रहने प्रतिबद्धता जनाए। उनले खेलाडीको हकहित, पेशागत अधिकार र अवसरका सवालमा संघ सशक्त रुपमा क्रियाशील रहने वचन दिए।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ