
काठमाडौं, असोज ३ गते ।

नेपालगन्ज – नेपालगन्जमा हरेक वर्ष भव्य रूपमा आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको ११औं संस्करणमा यती एयरलाइन्स आधिकारिक एयरलाइन्स पार्टनरको रूपमा जोडिने भएको छ। नेपालकै पुरानो तथा विश्वासिलो आन्तरिक उड्डयन सेवामध्ये अग्रणी यती एयरलाइन्ससँगको सहकार्यपछि यस वर्षको म्याराथनलाई अझ व्यवस्थित र फराकिलो दायरामा सम्पन्न गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।
आगामी मंसिर ६ गते शनिबार हुने म्याराथन र यससँग सम्बन्धित अन्य भगिनी इभेन्टका लागि बिहीबार सम्झौतापत्रमा धारा नेपालगन्ज म्याराथनका प्रोग्राम म्यानेजर कपिल थापा र यती एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज बिष्टले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रमका क्रममा दुवै पक्षले सहकार्यलाई सकारात्मक कदमका रूपमा लिँदै यसले खेलकुद, पर्यटन र स्थानीय समुदायलाई लाभ पुर्याउने विश्वास व्यक्त गरेका थिए।
यस सहकार्यपछि यती एयरलाइन्स धारा नेपालगन्ज म्याराथनको अफिसियल एयरलाइन्स पार्टनरका रूपमा रहनुका साथै, धावक, पदाधिकारी र सम्बन्धित सदस्यहरुलाई सहुलियत दरमा हवाई सेवाको सुविधा उपलब्ध गराउनेछ। साथै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष नेपाली धावकलाई अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन सहयोग गर्ने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।
धारा नेपालगन्ज म्याराथन वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एआईएमएस) को पूर्ण सदस्य हो। यस सदस्यतामार्फत नेपाली धावकले विश्वकै प्रतिष्ठित म्याराथनमा प्रत्यक्ष अनुभव लिन पाउने अवसर पाएका छन्। संस्थापक तथा एआईएमएस नेपाल प्रतिनिधि टीएस ठकुरीका अनुसार, “नेपालगन्ज म्याराथन केवल खेलकुद प्रतियोगिता मात्र नभई, समुदायको अपनत्व र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण प्लेटफर्म हो।”
म्याराथनले पछिल्ला वर्षहरूमा दायरा विस्तार गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै आएको छ। यसअघि, थाइल्याण्डमा हुने विश्वस्तरीय बाङ्सेन रनिङ सिरिज मा नेपाली धावक, पदाधिकारी तथा सदस्यहरुलाई सहभागी गराउने सम्झौता गरिएको थियो। त्यसबाट सहभागीले अनुभव बटुल्नुका साथै आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर पाएका थिए।

संस्थापक ठकुरीले थपे, “धारा नेपालगन्ज म्याराथन धावकका लागि मात्र होइन, समुदायका हरेक सदस्य लाभान्वित हुने प्लेटफर्म हो। यसका सदस्यले यती एयरलाइन्समार्फत सहुलियत टिकट मात्र होइन, भविष्यमा खेलकुद सामग्री उत्पादक तथा वितरक कम्पनीहरुसँग हुने सम्झौताबाट विशेष सुविधा पाउने व्यवस्था पनि मिलाइनेछ।”
यति मात्र नभई, नेपालगन्ज कनक्लेवलाई लक्षित गर्दै विभिन्न पेशागत तथा व्यावसायिक संघ–संस्थासँग सहकार्य गर्ने तयारी पनि भइरहेको आयोजकले जनाएको छ। यही पृष्ठभूमिमा, धारा नेपालगन्ज म्याराथनलाई खेलकुद, पर्यटन, व्यावसायिक गतिविधि र सामुदायिक विकासको साझा मंच बनाउने उद्देश्य रहेको स्पष्ट भएको छ।
मंसिर ६ गते हुने प्रतियोगिताका लागि आवश्यक तयारी तीव्र पारिएको छ। आयोजनाका क्रममा सहभागी धावकलाई सुरक्षित, व्यवस्थित र प्रेरणादायी वातावरण उपलब्ध गराउने प्रतिवद्धता आयोजकले व्यक्त गरेको छ।
