नेपाल एपिएफ क्लबका पुरन राई र लुम्बिनी प्रदेशका मन्सुब बस्नेतले छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधवार विजयी सुरुवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मङ्गलबारदेखि सुरु भएको प्रतियोगिताको पुरुष ५७ केजी तौलसमूहमा पुरनले मधेश प्रदेशका रबन अलीलाई पराजित गरॆ । मन्सुबले गण्डकी प्रदेशका चन्द्रबहादुर थापाबाट वाकओभर पाएका थिए ।
गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ सङ्घद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा लुम्बिनीका भरत पुनले गण्डकीका रोकी गुरुङ तथा एपिएफका प्रदीप महर्जनले सुदूरपश्चिम प्रदेशका सन्दीप नाथलाई हराए ।
शनिबारसम्म चल्ने प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबिच उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको पुरुषमा सात र महिलामा ६ गरी १३ स्पर्धामा एक सय पाँच खेलाडीको सहभागिता रहेको नेपाल बक्सिङ सङ्घले जनाएको छ ।
प्रतियोगितामा प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र ७५÷७५ सय रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
