
काठमाडौ ,असोज ३ गते।
नेपालले जारी साफ १७ वर्षमुनिको फुटबल च्याम्पियनसिपमा बङ्गलादेशविरुद्ध ठूलो अन्तरको हार ब्यहोरेको छ। श्रीलङ्काको कोलम्बोमा बुधबार साँझ भएको समूह चरणको खेलमा नेपाललाई बङ्गलादेशले ४–० गोलअन्तरले पराजित गरेको हो।

बङ्गलादेशको जितमा साबिर इस्लाम, मोहम्मद ओपु रेहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले गोल योगदान गरे। खेलभरि नै बङ्गलादेशले आक्रामक प्रदर्शन गरेको थियो भने नेपाली टोली आक्रमणमा प्रभावकारी देखिन सकेन।
यो नतिजासँगै समूह ‘ए’ को समीकरण अझै खुला रहेको छ। नेपालले अहिलेसम्म दुई खेल खेल्दै ३ अंक जोडेको छ। बङ्गलादेशले एक खेल खेलेर नै समान ३ अंक पाएको छ भने श्रीलङ्का भने एक खेलमा पराजित हुँदै अंकविहिन बनेको छ।
अब समूहको अन्तिम खेल बङ्गलादेश र श्रीलङ्काबीच हुनेछ। सो खेलमा बङ्गलादेशले जित्ने वा बराबरीमा रोक्ने हो भने नेपाल सेमिफाइनलमा पुग्नेछ। तर, यदि श्रीलङ्काले अप्रत्याशित जित हात पार्यो भने समूहको समीकरण फेरबदल भई नेपालको सेमिफाइनल यात्रा चुनौतीपूर्ण बन्न सक्छ।
दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा भइरहेको यो प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, श्रीलङ्का र बङ्गलादेश रहेका छन् भने समूह ‘बी’ मा भारत, पाकिस्तान, माल्दिभ्स र भुटान प्रतिस्पर्धा गर्दैछन्। राउन्ड रोबिन चरणपछि हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने नियम छ।
यसअघि नेपालले समूह चरणको पहिलो खेलमा श्रीलङ्कालाई पराजित गर्दै सकारात्मक सुरुआत गरेको थियो। तर दोस्रो खेलमा ठूलो अन्तरको हार भोगेपछि सेमिफाइनल यात्राको सपना अन्तिम खेलको नतिजामा निर्भर बनेको छ।
