विश्व क्याडेट चेस प्रतियोगितामा सहभागी हुन नेपाली टोली कजाकिस्तान प्रस्थान

३ असोज, काठमाडौं ।
नेपालका दुई उदयीमान बुद्धिचाल खेलाडी विश्वस्तरीय प्रतिस्पर्धामा सहभागी हुन कजाकिस्तानको अल्माटी प्रस्थान गरेका छन्। विश्व बुद्धिचाल महासङ्घ (FIDE) र कजाकिस्तान चेस फेडरेसनको संयुक्त आयोजनामा यही सेप्टेम्बर १९ देखि ३० सम्म सञ्चालन हुने फिडे विश्व क्याडेट चेस च्याम्पियनसिप २०२५ मा सहभागी हुन उनीहरू बिहीबार बिहान कजाकिस्तानतर्फ प्रस्थान गरेका हुन्।

नेपाल बुद्धिचाल महासङ्घका महासचिव धर्म बहादुर लामाको नेतृत्वमा युवा खेलाडी अग्रिम सैंजु र हार्दिक पन्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछन्। १२ वर्ष मुनिका खेलाडीका लागि आयोजना हुने यस प्रतिष्ठित प्रतियोगितामा नेपालसहित अमेरिका, भारत, फ्रान्स, रोमानिया, जर्मनी, पोल्याण्ड, सिरिया, आयोजक राष्ट्र कजाकिस्तानलगायत ८० भन्दा बढी मुलुकका शीर्ष स्तरका १७६ खेलाडी सहभागी हुँदैछन्।

प्रतियोगिता ११ राउण्डको स्विस प्रणाली अन्तर्गत सञ्चालन हुनेछ। प्रत्येक खेलमा खेलाडीलाई ९० मिनेट समय दिइनेछ भने प्रत्येक चालमा थप ३० सेकेन्ड समय उपलब्ध हुनेछ। प्रतिस्पर्धामा सहभागी हुने खेलाडीहरूको औसत रेटिङ १८३६ रहेको छ।

शीर्ष वरीयतामा रहेका खेलाडीहरूमा अमेरिकाका २३३० रेटेड खेलाडी सिएमए गुओ एथन, २३२० रेटेड एफएम झु लिनक्सी, २२५८ रेटेड लिङ चेन्क्सुआन, सिरियाका २३०७ रेटेड एफएम फण्डिला मानेन र २२५४ रेटेड दामोदर बुल्गक रहेका छन्।

नेपालको तर्फबाट सहभागी खेलाडीमध्ये अग्रिम सैंजु १६८० रेटिङसहित १३० औं वरीयतामा छन् भने हार्दिक पन्त १६४६ रेटिङसहित १३८ औं स्थानमा छन्। दुवै खेलाडीले नेपालको तर्फबाट बलिया प्रतिस्पर्धीलाई चुनौती दिने अपेक्षा गरिएको छ।

बिहीबार बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बुद्धिचाल महासङ्घका सचिवालय सदस्य बालाराम पुन र महासङ्घका प्रवक्ता राजु ताम्राकारले नेपाली टोलीलाई विदाई गरेका थिए।

महासङ्घका सचिवालय सदस्य ताम्राकारका अनुसार हालसालै नेपाल बुद्धिचाल महासङ्घ र कजाकिस्तान चेस फेडरेसनबीच दुई देशबीचको पारस्परिक सहयोगलाई अघि बढाउने समझदारी भएको छ। यसै समझदारी अन्तर्गत फ्रिडम एसियन चेस इनिसिएटिभ (FSCI) प्रोजेक्ट मार्फत नेपालमा विदेशी प्रशिक्षकद्वारा युवा खेलाडीलाई विशेष प्रशिक्षण दिइएको थियो।

त्यही प्रशिक्षण प्राप्त गरेका अग्रिम सैंजु र हार्दिक पन्तलाई यसपटक विश्व क्याडेट च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरिएको ताम्राकारले बताए। उनका अनुसार यो अनुभवले दुवै खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा आत्मविश्वास बढाउन ठूलो मद्दत गर्नेछ।

नेपाल बुद्धिचाल महासङ्घले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागीता मार्फत युवा पुस्तामा चेस खेलप्रति आकर्षण बढ्ने र आगामी दिनमा नेपालले अझै बलिया खेलाडी उत्पादन गर्ने अपेक्षा राखेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ