नेपाल ओलम्पिक समितिद्वारा शोकसभा आयोजना

काठमाडौं,असोज १ गते ।

काठमाडौं । नेपाल ओलम्पिक समिति (तदर्थ समिति) ले भदौ २३ र २४ गते आयोजित Gen Z आन्दोलनका क्रममा दिवंगत भएका प्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार एक विशेष शोकसभा आयोजना गरेको छ।

सातदोबाटोस्थित नेपाल ओलम्पिक समितिको भवनमा आयोजित उक्त कार्यक्रममा दीप प्रज्वलन गर्दै दिवंगत आत्माको चीरशान्ति तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो। समितिका मानार्थ अध्यक्ष एवं तदर्थ समितिका संयोजक ध्रुवबहादुर प्रधान, अन्य पदाधिकारी तथा विभिन्न खेल संघका पदाधिकारीहरू कार्यक्रममा उपस्थित थिए।

शोकसभामा बोल्दै समितिका पदाधिकारीहरूले आन्दोलनका क्रममा देखिएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता घटनाबाट बच्न पूर्वसावधानी र सचेतनाको आवश्यकतामा जोड दिएका थिए। साथै, दिवंगत आत्माको स्मृतिमा खेल क्षेत्रका प्रतिनिधिहरूले मौन धारणसमेत गरेका थिए।

कार्यक्रममा उपस्थित खेल क्षेत्रका विभिन्न सरोकारवालाहरूले दिवंगतको योगदान स्मरण गर्दै नेपाली खेलकुद समुदाय गम्भीर घटनाबाट प्रभावित भएको बताएका थिए। समितिले यस्तो दुर्घटना दोहोरिन नदिन खेलकुदमा संलग्न सबैलाई जिम्मेवार र अनुशासित रहन आग्रहसमेत गरेको छ।

नेपाल ओलम्पिक समितिका प्रवक्ता तथा सदस्य समिम मियाँ अन्सारीले विज्ञप्तिमार्फत जानकारी दिँदै दिवंगत आत्माको श्रद्धाञ्जलीका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको जनाएका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ