
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण तोकिएकै मितिमा आयोजना गर्ने तयारी अघि बढाएको छ। हालै जेनजीको भ्रष्टाचार विरोधी आन्दोलनका कारण देशको खेलकुद गतिविधि प्रभावित भइरहेका बेला एनपीएल समयमै हुने हो वा नहुने भन्ने प्रश्न धेरैको चासोको विषय बनेको थियो। तर, क्यानले स्पष्ट रूपमा प्रतियोगिता तय गरिसकेको मितिमा नै सम्पन्न हुने जनाएको छ।
क्यानका प्रवक्ता छुम्बी लामाले मंसिर १ गतेबाट सुरु हुने गरी तय गरिएको एनपीएल समयमै हुने बताउँदै संघले आवश्यक गृहकार्य अघि बढाइसकेको जानकारी दिए। उनले भने, “पछिल्लो अवस्था हेरेर क्यानले फ्रेन्चाइजहरुसँग समेत एक चरण छलफल गरिसकेको छ। छलफलमा सबै पक्षले प्रतियोगिता तोकिएकै मितिमा गर्ने सहमति जनाएका छन्।”
तयारी तीव्र, अक्सन सकियो
एनपीएलको दोस्रो संस्करणका लागि क्यानले यसअघि नै खेलाडी अक्सन सम्पन्न गरिसकेको छ। अक्सनपछि टिमहरूले आफ्ना खेलाडी तथा व्यवस्थापन टिम गठनलाई अन्तिम रूप दिइरहेका छन्। केही टिमहरूले विदेशी खेलाडी र मुख्य प्रशिक्षकको घोषणा समेत गरिसकेका छन्।
काठमाडौं गोर्खाजले नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाइलाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ। त्यस्तै, सुदूरपश्चिम रोयल्सले चर्चित अष्ट्रेलियन क्रिकेटर क्रिस लिनलाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरी टोलीलाई बलियो बनाएको छ।
अन्य फ्रेन्चाइजहरूले पनि विदेशी खेलाडी अनुबन्धका लागि आन्तरिक तयारी गरिरहेका छन्। यसले लिगलाई अझ आकर्षक र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।
परिस्थिति अनुसार अघि बढ्ने
यद्यपि प्रवक्ता लामाले वर्तमान परिस्थितिमा सुरक्षा लगायतका पक्षहरूलाई पनि विचार गर्नुपर्ने बताएका छन्। “हामीले मात्रै भनेर हुँदैन, सुरक्षासहितका सम्पूर्ण पक्ष अनुकूल हुनु आवश्यक छ। तर अहिलेको अवस्थामा भने तोकिएकै मितिमा एनपीएल आयोजना गर्ने क्यानको तयारी छ,” उनले स्पष्ट पारे।
८ टिमबीच प्रतिस्पर्धा
एनपीएलमा यसअघि उपाधि जितेको जनकपुर बोल्ट्ससहित विराटनगर किङ्स, काठमाण्डू गोर्खाज, चितवन टाइगर्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।
यस संस्करणलाई अझ भव्य र व्यवस्थित बनाउन क्यानले विभिन्न पक्षहरूसँग सहकार्य गर्दै तयारीलाई अघि बढाएको छ। खेल प्रेमीहरू पनि नेपाली क्रिकेटको यो चर्चित फ्रेन्चाइज लिग पुनः सुरु हुने पर्खाइमा छन्।