काठमाडौं, भदौ ३१ गते ।
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबारदेखि सुरु हुने भनिएको यु–१६ लिग स्थगित गरेको छ। प्राविधिक कारण देखाउँदै एन्फाले क्लबहरुलाई पत्र पठाएर अर्को सुचना नभएसम्मका लागि प्रतियोगिता स्थगित भएको जानकारी गराएको हो।
त्यस्तै, पुस महिनामा गर्ने तयारी भएको सहिद स्मारक ए डिभिजन लिग र सोसँग सम्बन्धित छलफलसमेत अनिश्चित बनेको छ। एन्फाले मंगलबारका लागि तय गरेको क्लबहरुसँगको बैठक पनि स्थगित भएको जनाएको छ।
एन्फाले क्लब अध्यक्षहरुलाई पठाएको सूचनामा भनिएको छ, “मिति २०८२/५/३० गते एन्फा यू–१६ यूथ लिग फुटबल प्रतियोगिता २०२५ र मिति २०८२/५/३१ गते शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सम्बन्धि छलफल गर्न बैठक राखिएकोमा प्राविधिक कारणबस अर्को सुचना नभएसम्मका लागि उक्त दुवै बैठक स्थगित गरिएको जानकारी गराउँदछु। साथै एन्फा यू–१६ यूथ लिग फुटबल प्रतियोगिता २०२५ पनि अर्को सूचना नभएसम्मका लागि स्थगित भएको व्यहोरा अवगत गराउँदछु।”
अनौपचारिक छलफल भए पनि निर्णय स्थगित
यद्यपि, सोमबार एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर, सहायक महासचिव बद्री भट्टराई, केन्द्रीय सदस्य पुरुषोत्तम थापा र विकासनारायण श्रेष्ठसहित क्लब प्रतिनिधिबीच अनौपचारिक छलफल भएको थियो। सो अवसरमा हालको राजनीतिक परिस्थिति, जेनजेड आन्दोलनको असर तथा लिग सञ्चालनका चुनौतीबारे छलफल भएको सहभागी क्लबहरुले बताएका छन्।
क्लब प्रतिनिधिहरूले जेनजेड आन्दोलनका कारण खेल स्थगित गर्नुपरेको भए पनि पुनः सञ्चालनका लागि निश्चित समय आवश्यक हुने धारणा राखेका थिए। साथै, स्थगित भएको आधिकारिक पत्र आवश्यक भएको माग पनि गरेका थिए।
प्रवक्ताको भनाइ
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार सोमबार नै यु–१६ लिग स्थगित भएको पत्र क्लबहरुलाई पठाइएको छ भने ए डिभिजन लिग सम्बन्धी छलफल स्थगित गरिएको पत्र मंगलबार पठाइनेछ। उनले भने, “क्लब र प्रस्तावित जिल्लाका प्रतिनिधिसँग छलफल गर्न आजको बैठक बोलाइएको थियो। तर गत सातादेखिको राजनीतिक घटनाक्रमका कारण कुनै गतिविधि हुन नसकेकाले स्थगित गरिएको हो। यसबारे आधिकारिक पत्र आज पठाउनेछौं।”
क्लबहरूको थप माग
अनौपचारिक छलफलमा सहभागी भएका क्लब अध्यक्षहरूका अनुसार, लिग स्थगनसम्बन्धी आधिकारिक पत्र मात्र नभई एन्फाले बाँकी बक्यौता दशैँअघि उपलब्ध गराउनुपर्ने माग पनि राखिएको छ।
ए डिभिजन लिगको सम्भावना कमजोर
एन्फाले यस पटकको ए डिभिजन लिगलाई काठमाडौं बाहिर समेत विस्तार गर्दै १४ जिल्लाका मैदानमा सञ्चालन गर्ने तयारी गरिरहेको थियो। सो सम्बन्धमा क्लबहरुसँग विस्तृत छलफल गर्न मंगलबार बैठक बोलाइएको थियो। तर बैठक स्थगित भएपछि, पुस महिनामा ए डिभिजन लिग हुने सम्भावना क्षीण बनेको संकेत एन्फा भित्रैबाट आएको छ।
यससँगै नेपाली फुटबलका दुई महत्वपूर्ण लिग — यु–१६ यूथ लिग र ए डिभिजन लिग दुवै अनिश्चित बनेका छन्।
