काठमाडौं, भदौ २९ गते ।
मुस्ताङ – उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ स्थित लोवथाङ गल्फ कोर्समा शनिबार सम्पन्न चौथो संस्करणको गल्फ प्रतियोगितामा भक्तराज गुरुङले शानदार प्रदर्शन गर्दै च्याम्पियन बनेका छन्। उनले १८ होलमा ३७ अंक जोड्दै उपाधि हात पारे।

यसैगरी, ३५ अंक जोडी देब पुन उपविजेता घोषित भए। महिला तर्फ जान्भी गुरुङ विजेता र गिता गुरुङ उपविजेता बने। सिनियर वर्गमा नारायण गुरुङले विजय हासिल गरे।
विभिन्न उपाधि वितरण
‘टी फर क्लाइमेट’ नारा सहित आयोजित प्रतियोगितामा अन्य विशेष विधामा पनि विजेताहरू घोषणा भए।
- बेष्ट ग्रस र ‘क्लोजेष्ट टु दि पीन’ – श्याम तामाङ
- सबैभन्दा लामो ड्राइभ – भक्तराज गुरुङ
- सर्वाधिक बर्डी – सञ्जिव तिवारी
- सर्मथक विजेता – सुर्यप्रसाद शर्मा
विजेताहरूलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरियो।
होल–इन–वानमा कोही सफल भएनन्
प्रतियोगिताको आकर्षण मानिएको होल–इन–वान को पुरस्कार यसपटक कसैले जित्न सकेन। उक्त पुरस्कारका लागि विशेष सजिएको घोडा राखिएको थियो।
विजेतालाई लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङ र मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले पुरस्कार वितरण गरे।
खेल पर्यटनको केन्द्र बन्दै लोवथाङ
कुनै समय पशु चरन क्षेत्र रहेको लोवथाङलाई गल्फ कोर्समा रूपान्तरण गरिएको हो। हाल यो क्षेत्र निरन्तर आयोजना हुने प्रतियोगिताका कारण खेल पर्यटनमार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार भइरहेको छ। गाउँपालिका अध्यक्ष गुरुङका अनुसार, यसले स्थानीय आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुर्याएको छ।
प्रतियोगितामा देश तथा विदेशबाट करिब ५५–६० गल्फरले सहभागी हुने अनुमान गरिएको थियो। तर, जेन–जी प्रदर्शनसँग जोडिएको कर्फ्यु तथा निषेधाज्ञाका कारण यसपटक २४ खेलाडीले मात्र सहभागिता जनाए।
विश्व रेकर्डतर्फ लक्ष्य
लोमान्थाङमा रहेको यो गल्फ कोर्स समुद्री सतहदेखि ४,७०० मिटरको उचाइमा अवस्थित छ। यस कारण विश्वकै उच्च स्थानमा रहेको दाबी गर्दै यसलाई गिनिज वर्ल्ड रेकर्डमा दर्ता गराउने तयारी भइरहेको प्रबन्ध निर्देशक विष्टले जानकारी दिए।
हाल विश्वकै अग्लो भनिएको सिक्किम, भारतको याक गल्फ ३,९७० मिटर, बोलिभियाको ला पाज ३,२६० मिटर, चीनको जाडे ड्रागन माउन्टेन गल्फ क्लब ३,०३८ मिटर, र अमेरिकाको कुपर क्रिक गल्फ क्लब ३,००६ मिटरमा अवस्थित छन्।
प्रायोजकको सहयोग
प्रतियोगिता गण्डकी प्रदेश सरकार, लोमान्थाङ गाउँपालिका, प्रभु बैंक, सिटी एक्सप्रेस मनी ट्रान्सफरलगायतका संस्थाको प्रायोजनमा सम्पन्न भएको हो।