
काठमाडौं, भदौ २९ गते ।
काठमाडौँ — आगामी नोभेम्बर १५ देखि २२ सम्म नेपालमा आयोजना हुने तय भएको एभरेस्ट महिला भलिबल लिग भलिबल प्रतियोगिता स्थगित गरिएको छ।
शनिबार भर्चुअल माध्यमबाट बसेको सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) को बोर्ड बैठकले काठमाडौंको टुँडिखेलमा हुने भनिएको उक्त प्रतियोगिता हालको परिस्थितिका कारण स्थगित गर्ने निर्णय गरेको हो।
काभाले विज्ञप्तिमार्फत नेपालको वर्तमान चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै प्रतियोगिता स्थगित गरिएको स्पष्ट पारेको छ। साथै, काभाले नेपाल भलिबल संघ, संघका पदाधिकारीहरू र सम्पूर्ण नेपाली जनतासँग ऐक्यवद्धता प्रकट गरेको छ।
काभाले नेपाल भलिबल संघको नेतृत्वप्रति पनि उच्च सम्मान व्यक्त गरेको छ। विशेषगरी अध्यक्ष जितेन्द्र बहादुर चन्दको नेतृत्व, निरन्तर समर्पण र टोली भावना प्रशंसनीय रहेको काभाको भनाइ छ।
त्यसैगरी, काभाले नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषदप्रति नेपालमा भलिबलको विकास र विस्तारप्रतिको अटूट प्रतिबद्धताका लागि आभार प्रकट गरेको छ। संगठनले वर्तमान परिस्थितिको चाँडै समाधान हुने आशा व्यक्त गर्दै, प्रतियोगिता यथासक्य चाँडै पुनः आयोजना गर्ने अपेक्षा पनि राखेको छ।
नेपाल भलिबल संघले पनि एक विज्ञप्ति जारी गर्दै हालको राष्ट्रिय परिस्थितिका कारण प्रतियोगिता स्थगन भएको जानकारी दिएको छ। संघका अनुसार अधिकांश सहभागी राष्ट्रहरूले तोकिएको मितिमा नेपालमा टोली पठाउन अस्वीकार गरेपछि प्रतियोगिता आयोजना गर्नु चुनौतीपूर्ण बनेको हो।
यस प्रतियोगिताका लागि नेपाल भलिबल संघले हिमालय टेलिभिजनसँग प्रसारण तथा बजार व्यवस्थापन (ब्रोडकास्टिङ एण्ड मार्केटिङ) अधिकारसम्बन्धी सम्झौता गरिसकेको थियो।
यसअघि भदौ २३ गते जेनजी पुस्ताद्वारा सुरु गरिएको आन्दोलन र त्यसपछिका घटनाक्रमका कारण पोखरामा सञ्चालनमा रहेको एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणसमेत बीचमै स्थगित भएको थियो।