टी-२० सिरिजको दोस्रो खेलमा नेपाल ए ले आसाममाथि सहज जित

काठमाडौं, भदौ १३ गते ।

स्पीनरद्वय युवराज खत्री र बसिर अहमदको घातक बलिङ मद्दतमा भारतको गुवाहाटीमा जारी टी-२० सिरिजको दोस्रो खेलमा नेपाल ए ले आसाममाथि सहज जित निकालेको छ ।

नेपालले आसामलाई ९६ रनले पराजित गरेको हो । नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा ७७ रनमा अलआउट भयो । आसामका रुहिनन्दन पेगुले सर्वाधिक १७ रन बनाए। सिबशंकर रोयले १६ रन बनाए ।

नेपालका लागि लेगब्रेक बलर युवराज खत्रीले ३.२ ओभरमा १५ रन दिएर ४ विकेट लिए भने बाँयाहाते स्पीनर बसिर अहमदले ३ विकेट लिए । कमलसिंह ऐरी, आकाश चन्द र विवेक यादवले १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनाउँदै आसामलाई १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपाल ए का लागि सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए । देव खनाल र पवन सर्राफले समान ३१ रन बनाए । बसिर अहमदले २७ रन तथा विवेक यादव २६ रन बनाउदै अविजित रहे ।

आसामका आकाश सेनगुप्ताले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । अभिनव चौधरीले २ तथा आयुष्मान मलाकार र अभिलाष गोगोइले १-१ विकेट लिए ।
बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो ।

नेपाल ए ले आसामसँग कुल ५ खेल खेल्ने तालिका रहेको छ । यसपछिका ३ खेलहरू एसीए रंगशालामा डे/नाइट को रूपमा फ्लडलाइटमा खेल्ने छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ