
काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ शनिबार हुने भएको छ । जहाँ २ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
गत वर्ष अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ फिडे स्थापनाको शत बार्षिकोत्सब अवसरमा हिमालयन १०० आयोजना गरिएको थियो, जहाँ १ सय खेलाडी सहभागि थिए । उक्त प्रतियोगिता फिडेको विश्वव्यापी अभियानअन्तर्गत् गिनिज वल्र्ड रेकड्र्समा दर्ता भएको थियो । त्यसैको दोस्रो संस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु’ को रुपमा सञ्चालन गर्न लागिएको हो ।
हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूका अनुसार एकदिने प्रतियोगितामा खुला सहित १७ स्पर्धामा ६७ हजार रुपिया पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
उनी भन्छिन्, ‘पहिलो संस्करणमा १ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए, यसपालि २ सय खेलाडी खेल्दैछन् । र, यो संख्याले नेपालमा सबभन्दा बढी खेलाडी सहभागि हुने ब्लिट्ज चेस प्रतियोगिताको रेकर्ड बनाउनेछ ।’
नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका केन्द्रीय सदस्य समेत रहेका राजेन्द्र केसी भोटे बहाल युवा क्लबका पूर्व अध्यक्ष पनि हुन् । उनको ४४ वर्षको उमेरमा २०७७ जेठ २५ गते देहान्त भएको थियो ।
उनकी धर्मपत्नी वन्दना खड्काले भनिन्, ‘उहाँ बालबालिकालाई एकदमै माया गर्नुहुन्थ्यो । त्यसैले उहाँको स्मृतिमा चेस प्रतियोगिता आयोजना गर्न लागिएको हो । यो प्रतियोगिताले बालबालिकालाई अनुशासित बन्नेसँगै बौद्धिक विकासमा सहयोग पुग्ने विश्वास गरेकी छु ।’
त्रिपुरेश्वरस्थित वोगन भिल्लामा हुने खुला तर्फका विजेताले १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् । खुलातर्फ उत्कृष्ट १०, यू १५ मा शीर्ष ७ सहित सबै स्पर्धाका विजेताले नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा खुला, यू १५ बाहेक महिला, भेट्रान, फिडे रेटिङ १७०० मुनि, १५०० मुनि, अनरेटेड, यू १३, यू ११, यू ९, यू ७ र बेस्ट एचसीए स्पर्धासमावेश गरिएको छ । उमेर समूह र बेस्ट एचसीएमा गल्र्स र ब्वाइजका दुवै स्पर्धामा राखिएको छ ।
२०८० साल चैत १ गते स्थापित हिमालयन चेस एकेमेडीले आयोजना गर्न लागेको आठौं वटा प्रतियोगिता हो राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु । उसले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकड्र्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप र देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरेको थियो ।
चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई थापाथली स्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइरहेको छ । भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । प्रत्येक वुधबार महिलालाई निशुल्क प्रशिक्षण दिइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।
एकेडेमीले कमनवेल्थ च्याम्पियन रहेका भारतीय इन्टरनेसनल मास्टर आईएम अतनु लहिरी ल्याएर खेलाडी र प्रशिक्षकलाई विशेष प्रशिक्षण पनि दिएको थियो