दक्षिण अफ्रिका वर्ल्ड टेस्ट च्याम्पियन

 दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ।

दक्षिण अफ्रिकाले लामो समयदेखि प्रतीक्षित अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा गरेको छ। दक्षिण अफ्रिकाको सिनियर क्रिकेट टोलीले सन् १९९८ पछि पहिलो पटक आइसिसी उपाधि जितेको हो।

दक्षिण अफ्रिकाले जितको लागि दोस्रो इनिङ्समा २ सय ८२ रनको लक्ष्य पाएको थियो। चौथो दिन २ विकेटको नोक्सानीमा २ सय १३ बाट ब्याटिङ सुरु गरेको दक्षिण अफ्रिकालाई जितका लागि बाँकी ६९ रन आवश्यक थियो। खेल लर्ड्स मैदानमा भइरहेको थियो।

अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले दिनको तेस्रो ओभरमै विपक्षी कप्तान टेम्बा बावुमालाई ६६ रनमा क्याच आउट गराए। त्यसले अस्ट्रेलियन टोलीमा आशा जगाएको थियो।

त्यसपछि ४१ रन आवश्यक रहेको बेला मिशेल स्टार्कले ट्रिस्टन स्टब्सलाई बोल्ड गर्दै दक्षिण अफ्रिकी टोलीको केही तनाव बढाए ।

तर शतक बनाएका ओपनर ऐडन मार्करामले अघिल्लो दिनको लयलाई निरन्तरता दिँदै १ सय ३६ रनको उत्कृष्ट इनिङ खेले र दक्षिण अफ्रिकालाई जितको नजिक पुर्‍याए।

मैदानमा शतक बनाउने एक्ला खेलाडी मार्करामले जितका लागि चाहिएको रन प्रहार गर्ने मौका भने गुमाए। जब उनले जोश हेजलवुडको बलमा मिड विकेटमा ट्राभिस हेडलाई क्याचको मौका दिए ।

त्यसपछि डेभिड बेडिङह्याम र काइल भेरेनले बाँकी रन पूरा गर्दै दक्षिण अफ्रिकालाई जित दिलाए। स्टार्कको बलमा कभर क्षेत्र हुँदै भेरेनले एक रन लिए र खुसीयाली मनाउँदै हात उठाए।

दक्षिण अफ्रिकाको यो रन चेज लर्ड्समा टेस्ट क्रिकेट इतिहासको दोस्रो सर्वाधिक बराबरीको रन चेज हो । यसअघि १९८४ मा वेस्ट इन्डिजले ३ सय ४२ रनको लक्ष्य पछ्याएर जित हासिल गरेको थियो।

यससँगै दक्षिण अफ्रिका न्यूजिल्यान्ड (२०२१) र अस्ट्रेलिया (२०२३) पछि वर्ल्ड टेस्ट च्याम्पियन बन्ने तेस्रो टोली बनेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ