
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुदबीच निकट सम्बन्ध रहेको बताएका छन् । दशरथ रंगशालामा बुधबार पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्डप्र तियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले शिक्षाको ज्ञान, चेतना र बौद्धिकता एवं खेलकूदको अनुशासन, अभ्यास र उत्साहको गुणले भोलिको कर्णधार नेपाली युवालाई सक्षम, सबल र योग्य बनाएर राष्ट्र निर्माणको पहरेदारका रुपमा उभ्याउन योगदान दिने बताए ।
राष्ट्रपति पौडेलले बालबालिकाको शारीरिक, मानसिक र चौतर्फी व्यक्तित्व विकासको लागि खेल जरुरी रहेको भन्दै यही कारणले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भनिएको स्पष्ट पारे ।
उनले खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय भएको भन्दै भने, ‘यहीबाट छानिएका उत्कृष्ट र योग्य बालबालिकाले राष्ट्रिय खेलाडीका रुपमा उभ्याउँदै अन्तर्राष्ट्रिय प्रतियोगिता सम्म पुग्ने बाटो तय गर्छन् । त्यसैले स्थानीय स्तरमा पूर्वाधार, खेलसामग्री, दक्ष प्रशिक्षक र प्रतियोगताका अवसर बढाएर खेल प्रतिको आकर्षण बढाउनु पर्दछ ।’
राष्ट्रपति पौडेलले नेपालमा खेल पर्यटनको प्रशस्त संभावना रहेको भन्दै अनुपम भौगोलिक विशेषता अनुसारका साहसिक खेल प्रति विश्व जगतको आकर्षणलाई मध्य नजर गरि यसबाटै देशको अर्थतन्त्रमा योगदान दिने तर्फ राज्यले सोच्नु पर्ने विश्वास व्यक्त गरे । उनले नेपालका परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एका तर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने र हाम्रा खेलाडीले थप कीर्तिमान पनि राख्न सक्ने बताए ।