कमजोर डिफेन्सले नेपाल फेरि थाइल्यान्डसँग पराजित

 कमजोर डिफेन्सका कारण मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल पराजित भएको छ।

पथुम थानीस्थित थम्मासत रंगशालामा सोमबार सम्पन्न खेलमा नेपाल २-० ले पराजित भएको हो। यसअघि शुक्रबार ‘क्लोज डोर’मा भएको अभ्यास खेलमा पनि नेपाल १–० ले पराजित भएको थियो। 

नेपालले दुवै गोल कमजोर डिफेन्स लाइनका कारण खान पुग्यो। पहिलो हाफमा थाइल्यान्डलाई गोलरहित बराबरीमा रोक्न नेपाल सफल भएको थियो। तर, ५९औं मिनेटमा सिधै प्रहार भएको फ्रिकिक कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले रोक्न नसक्दा नेपाल खेलमा १–० ले पछि पर्‍यो।

बल रोक्नेक्रममा नेपाली डिफेन्डर पूजा रानाले विपक्षी खेलाडीलाई फउल गरेकी थिइन्। प्राप्त फ्रिकिकलाई चात्चावान रोडथोङले करिब ३५ यार्डबाट सिधै जाली चुमाइन्।

७४औं मिनेटमा नेपालले दोस्रो गोल खायो। सिक्स यार्ड बक्सनजिकबाट कप्तान जिरापुरन मोङकोल्डीले गोल गर्दै अग्रता दोब्बर बनाइन्।

लामो क्रसमार्फत आएको बललाई डिक्सनजिकबाट पिचायतिदा मानोवाङ्गले जिरापुरानलाई दिएकी थिइन्। उक्त एअर बललाई जिरापुरानले सुन्दर तरिकाले फिनिसिङ गरिन्। अनमार्क रहेकी जिरापुरानले प्रहार गरेको उक्त बललाई रोक्न गोलकिपर अञ्जिलाले कुनै प्रतिकृया दिन चाहिनन्।

नेपालले यही जुन २९ देखि उज्वेकिस्तानमा महिला एसियन कप छनोट खेल्दैछ। सोही प्रतियोगिताको तयारीस्वरूप नेपालले थाइल्यान्डसँग एक मैत्रीपूर्ण र एक अभ्यास खेल खेलेको हो। 

एएफसी एसिया कप छनोटमा नेपाल समूह ‘एफ’मा छ। यो समूहमा नेपाल र आयोजक राष्ट्र उज्वेकिस्तानसँगै लाओस र श्रीलंका पनि छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ