ओपन गल्फ च्याम्पियनसिपको ११औँ संस्करण आयोजना जेठ २०देखि

नेपाल गल्फ संघले नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको ११औँ संस्करण आयोजना गर्ने भएको छ ।आयोजक संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत नेपालमा आयोजना हुने यस प्रतिष्ठित प्रतियोगिता आगामी मंगलबार (जेठ २०)देखि बिहीबारसम्म ७२ पारको गोकर्ण गल्फ क्लबमा आयोजना हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष टासी घले र महासचिव दीपक आचार्यको उपस्थिति थियो ।

तीनदिने ५४–होलको प्रतिस्पर्धामा नेपालसहित दक्षिण एसियाका बंगलादेश, श्रीलंका, भुटान र भारतका गरी कुल पाँच राष्ट्रका खेलाडीहरूले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्नेछन् । दक्षिण एसियाका सातै देशलाई प्रतियोगितामा सहभागिताका निम्ति निमन्त्रणा गरिए पनि पाकिस्तान र माल्दिभ्सले प्राविधिक कारण देखाउँदै सहभागिता हुन नसक्ने जनाएको संघका महासचिव आचार्यले जानकारी दिए ।

“हामीले दक्षिण एसियाका सातै देशमा प्रतियोगिताको निमन्त्रणा पठाएका थियौँ । तर, पाकिस्तान र माल्दिभ्सले उहाँहरूकै कारणले आउन सक्नुभएन,” महासचिव आचार्यले भने । पुरूषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ । पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई–दुई खेलाडी चयन गर्नेछन् र ३६ होलपछिको समग्र स्कोरका आधारमा विजेता घोषणा गरिने छ । आयोजकका अनुसार नेपालले प्रतियोगितामा दुई टिम सहभागी गराउने छ ।

प्रतियोगिताको व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागु गरिने छ । सहभागी खेलाडीमध्ये उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलको लागि स्थान सुरक्षित गर्नेछन् । महिला स्पर्धामा नेपाल र भारतका खेलाडीहरूको सहभागिता रहनेछ ।

प्रतियोगितामा हालसम्म ४५ पुरुष र १० महिला गल्फरको सहभागिता रहने निश्चित भएको छ । आइतबारसम्म खेलाडीको नाम दर्ता गर्ने समय रहेकोले यो संख्या बढ्न सक्ने आयोजकको अनुमान छ ।

प्रतियोगिताले वर्ल्ड एमेच्योर गल्फ र्‍याकिंङ (डब्लूएजीआर) बाट मान्यता पाएको छ । प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूले र्‍याकिंङ अंक समेत प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप), वाग्मती प्रदेश खेलकुद विकास परिषद्, गोकर्ण फरेष्ट गल्फ रिसोर्ट, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर, सिटिजन बैंक, होटेल मेची क्राउन, हिमालयन एयरलाइन्स, होटेल रोयल सिंगी, नेपाल ओलम्पिक कमिटी (एनओसी) तथा मेहेन्दो होटेल एन्ड स्टुडियो सुइट्सले सहयोग गरेका छन् ।

यो प्रतियोगिताले नेपालको साथै दक्षिण एसियामा युवा विकास र एमेच्योर गल्फको विकास तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको अध्यक्ष टासी घलेले बताए । 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ