ड्यानियल मुनोजले निर्णायक गोल गरेपछि कोलम्बियाले मैत्रीपूर्ण खेलमा स्पेनमाथि ऐतिहासिक जित दर्ता गरेको छ। लन्डन स्टेडियममा शुक्रबार राति सम्पन्न भएको खेलमा कोलम्बियाले स्पेनलाई १-० गोल अन्तरले पराजित गरेको हो।
ड्यानियलले खेलको ६१औँ मिनेटमा गरेको गोल नै कोलम्बियालाई जित दिलाउन पर्याप्त बन्यो।स्पेनलाई कोलम्बियाले पराजित गरेको यो पहिलोपटक हो। सन् १९७९ जुनमा स्पेन ए र कोलम्बिया यू २३ बीच पहिलोपटक भेट भएको थियो। उक्त खेल १-१ गोलको बराबरीमा सकिएको थियो।सोही वर्ष जुलाई ८ मा स्पेन ए र कोलम्बिया पुन: भिडेका थिए। सो खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसयता स्पेन र कोलम्बियाको सिनियर टोली ३ पटक भिडेका थिए।
सन् १९८१ जुलाई २ मा भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो। सन् २०११ फ्रेबुअरी ९ मा भएको खेलमा भने स्पेनले कोलम्बियालाई १-० गोल अन्तरले पराजित गरेको थियो। त्यसको ६ वर्षपछि सन् २०१७ जुन ७ मा भएको मैत्रीपूर्ण खेल भने २-२ गोलको बराबरीमा सकिएको थियो। त्यसको ७ वर्षपछि यी दुई टोली भिडेका हुन्।
