
नुवाकोट पर्यटन समाजको आयोजनामा जेठ २४ गते लाङटाङ ट्रेल रन हुने भएकोछ ।
२०७२ को भूकम्प र कोभिड–१९ महामारीका कारण प्रभावित लाङटाङ क्षेत्रको पर्यटन पुनर्जीवनका लागि ‘लाङटाङ ट्रेल रन’ आयोजना हुने भएको छ। साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित यो दौड प्रतियोगिता आगामी जेठ २४ गते सञ्चालन हुनेछ।
३२ किलोमिटर दूरीको यो दौड ३,८४० मिटरमा रहेको क्याङ्जिन गुम्बा बाट सुरु भएर स्याफ्रुबेसीमा सम्पन्न हुनेछ। आयोजकले स्वदेशी तथा विदेशी गरी १०० जना सहभागी गराउने लक्ष्य राखेका छन् भने कम्तीमा ५० जनाको सहभागिता हुने पक्का गरेको छ।
प्रतियोगितामा सहभागी हुन चाहनेले जेठ २० गतेसम्म वेबसाइटमार्फत फाराम भर्नुपर्नेछ। नेपाली सहभागीका लागि शुल्क ३५०० रुपैयाँ र विदेशीका लागि ६० अमेरिकी डलर तोकिएको छ।
प्रतियोगितामा महिला र पुरुष दुवैका लागि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको छ। विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। पहिलो स्थान प्राप्त गर्नेले १ लाख रुपैयाँ, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले २५ हजार र पाँचौंले १५ हजार पुरस्कार प्राप्त गर्नेछन्।
कार्यक्रम बागमती प्रदेश पर्यटन मन्त्रालयको आयोजनामा, रसुवा–नुवाकोट पर्यटन समाजको सह–आयोजनामा र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सञ्चालन हुनेछ।
यस प्रतियोगितामार्फत लाङटाङ क्षेत्रलाई पदयात्रा मात्र नभई म्याराथन तथा ट्रेल रन गन्तव्यका रूपमा पनि स्थापित गर्ने लक्ष्य राखिएको छ। आयोजकहरूले यस अभियानले स्थानीय पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरेका छन्।