सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शुक्र बहादुर राई एकल अग्रता बनाउँदै शीर्षस्थानमा

   काठमाडौं, जेठ ७ गते ।

समग्रमा ६-अन्डर १ सय ३० को स्कोर‌मा शुक्रले दिनेश प्रजापतिलाई १ स्ट्रोकले पछि पारेका छन्। आज शुक्रले १-ओभर ६९ को स्कोर गरे।

पहिलो दिन ७-अन्डर खेलेका शुक्रले आज सो लयलाई निरन्तरता दिन सकेनन्। पहिलो होलको बर्डीका विरूद्ध नवौं होलको बोगीले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। यसपछि १३ औं होलमा एक सट बचाए पनि १५औं र १८औं होलमा बोगीको सामना गरे‌। ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे।

समग्रमा ५-अन्डर १ सय ३१ को स्कोरमा दिनेश प्रजापति दोस्रो स्थानमा उक्लिएका छन्। आज उनले १-अन्डर ६७ को कार्ड बनाए।

दिनेशले तेस्रो होलमा एक सट खेर फाले। छैटौं होलको बर्डीले फ्रन्ट नाइन इभन-पार ३४ खेले। यसपछि १०औं र १३औं होलमा बर्डी प्रहार गरे। अन्तिम होलको बोगीले ब्याक नाइन १-अन्डर ३३ मा सकाए।

भेट्रान प्रो रामे मगर र पहिलो दिनका संयुक्त लिडर भुवन कुमार रोक्का समग्रमा ३-अन्डर १ सय ३३ को स्कोरमा तेस्रो स्थानमा छन्। रामेले १-अन्डर ६७ को स्कोर दर्ज गरे। भुवनले खराब प्रदर्शन गर्दै ४-ओभर ७२ मा दोस्रो दिनको खेल सकाए।

समग्रमा १-अन्डर १ सय ३५ को स्कोरमा सञ्जय लामा, निरज तामाङ र प्रदीप कुमार लामाले पाँचौं स्थान बाँडे। सञ्जयले २-अन्डर ६६ स्कोर गर्दा निरज र प्रदीपले इभन-पार ६८ को स्कोर बनाए।

एमेच्योरतर्फ राहुल विश्वकर्मा समग्रमा १-ओभर १ सय ३७ को स्कोरमा शीर्षस्थानमा रहेका छन्। उनले आज १-ओभर ६९ को स्कोर जोड्दै निश्चयजङ्ग रायमाझीलाई एक स्ट्रोकले पछि पारेका छन्। निश्चयले आज १-ओभर ६९ स्कोर गर्दे समग्रमा २-ओभर १ सय ३८ स्कोर बनाएका छन्।

३६ होलको समाप्तिमा ९-ओभर १ सय ४५ सम्म स्कोर गरेका २३ प्रोफेसनल र २ एमेच्योर गरी २५ गल्फरले कट बनाएका छन्।

प्रोफेसनलतर्फ जयराम श्रेष्ठ, भुवन नगरकोटी, रामकृष्ण श्रेष्ठ, राजेन्द्र श्रेष्ठ प्रधान, रमेश अधिकारी, दीपक मगर, धन बहादुर थापा, सुनिल केसी, टंक बहादुर कार्की, किशन कालीराज सुनार, शिवराम पौडेल, राजेन राई र सुमन परियारले कट बनाएका छन्।

७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागिता रहेको छ।


कुल ६ लाख रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख १० हजार, दोस्रोले ७० हजार र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरले पनि नगद प्राप्त गर्नेछन्।

मुख्य स्पर्धा पछि शनिवार प्रो-एम प्रतिस्पर्धा हुने आयोजक नेपाल प्रोफेशनल गल्फर्स एसोसिएसन एनपिजिए ले जनाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ