
काठमाडौं – आर्सनलले संघर्ष गर्दै आइतबार इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुललाई २–२ को महत्त्वपूर्ण बराबरीमा रोकेको छ । यसले आर्सनलको अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने आशालाई बलियो बनाएको छ । दोस्रो स्थनमा रहेको आर्सनल छैटौं स्थानको एस्टन भिल्लाभन्दा ५ अंकले अगाडि छ । कोडी गाक्पो र लुइज डियाजको गोलमा लिभरपुलले एनफिल्डमा पहिलो हाफमै २ गोलको अग्रता बनाएको छ । एउटा अर्को सिजन उपाधिविहीन हुनुपरेको आर्सनलबाट ग्याब्रियल मार्टिनेली र मिकेल मेरिनोले गोल फर्काएका थिए । खेल समाप्त हुन ११ मिनेट अगाडि मेरिनो दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडे पनि आर्सनलले लिभरपुलको आक्रमणलाई झेलेको थियो । लिभरपुलले २ खेल अगावै प्रिमियर लिगको उपाधि जितिसकेको छ । रेलिगेसनमा परिसकेको लेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–२ को बराबरीमा रोकेको छ । युरोपेली च्याम्पियन्स लिगमा छनोटका लागि प्रयासरत फरेस्टका लागि यो नतिजा गम्भीर धक्का रहेको छ र शीर्ष पाँचको सम्भावना अब उसको एक्लो प्रयासले पुग्ने छैन ।
फकुन्डो बोनानोटले ८१ औं मिनेटमा लेस्टरका लागि बराबरी गोल गरे । लेस्टरले नै १६ औं मिनेटमा कोनोर कोडीको गोलले अग्रता लिएको थियो । त्यसपछि मोर्गन गिब्स–ह्वाइटले २५ र क्रिस उडले ५६ औं मिनेटमा गोल गर्दै फरेस्टलाई खेलमा फर्काए । यो नतिजापछि फरेस्ट ६२ अंकमा सातौं स्थानमा रह्यो । उसको शीर्ष पाँचको सम्भावना अन्य टिमको खराब प्रदर्शनमा पनि टिक्नेछ । लेस्टरको भने ३१ अंक भएको छ ।
यसपल्ट इंग्ल्यान्डबाट ६ टिमले अर्को सिजनको च्याम्पियन्स लिगमा चुनौती पेस गर्नेछन् र त्यसमध्ये पाँच टिम लिगको शीर्षमा रहने छन् । अर्को छैटौं टिम भने युरोपा लिग विजेता हुनेछ । त्यसमा दुवै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र टोटनहम भिड्दै छन् । उनीहरू दुवै संयोगले आइतबारको खेलमा भने पराजित भएका छन् । दुवैले आफ्नै घरेलु मैदानमा भएको खेल गुमाएका हुन् ।