
पोखरा । पोखरा गण्डकी प्रदेश फुटबल संघको आयोजनामा आगामी असारको अन्तिम साता गण्डकी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
गण्डकी प्रदेशमा पहिलो पटक राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत मिति दिएको छ ।
एन्फाले आज गण्डकी प्रदेश फुटबल संघको नाममा पत्र काट्दै असार २८ देखी साउन ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न मिति दिएको हो । एन्फाको स्विकृत संगै गण्डकी प्रदेश फुटबल संघले प्रतियोगिताको तयारी समेत थालेको छ ।
उक्त प्रतियोगितामा कुल ८ टिमको सहभागिता गराउने संघका महासचिव विनोद गुरुङले जानकारी दिए । उनका अनुसार विभागिय क्लब त्रिभुवन आर्मी र एपिएफ क्लबले सहभागिता जनाउने भइसकेका छन् ।
‘एन्फाले डेट दिएपछि हामीले अब तयारी थालेका छौं । सोही मितिमा हामीले प्रतियोगिताको आयोजना गर्नेछौं’ उनले भने, ‘हामीले ८ टिमको मात्र सहभागिता गराउने तयारीमा छौं । यसका लागि आर्मी र एपिएफ आउने पक्का भएको छ भने गण्डकीको पनि टिम रहनेछ ।’
पोखरामा महिला फुटबलको गतिविधि नै न्युन छ । संघले महिला फुटबललाई प्राथमिकतामा राखेर महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको उनले सुनाए । जुन गण्डकी प्रदेशकै इतिहासमा पहिलो पटक हुनेछ ।