
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत आइतबार भएको खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसीले बराबरी रोकिएका छन् । कप्तान एरिक विष्टले रातो कार्ड पाउनुका बावजुत पनि बुटवलले झापालाई गोलरहित बराबरीमा रोकेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा पहिलो हाफमा झापाले लगातार आक्रमक गरेपनि बुटवलका किपर दीप कार्कीको उत्कृष्ट प्रदर्शनपछि गोल गर्न सकेन । दोस्रो हाफमा झापाले लय कायम राख्न सकेन ।
७०औं मिनेटमा बुटवलका कप्तान एरिक रातो (दोहोरो पहेँलो) कार्ड पाउँदै मैदान बाहिरिएपछि दश खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा झापाले उठाउन सकेन ।
पहिलो हाफमा झापाले उत्कृष्ट प्रदर्शन गरेपनि गोल गर्न नसक्नु र दोस्रो हाफमा बुटवल एक खेलाडी कम हुँदा पनि झापाले गोल गर्न नसक्दा बराबरीमै चित्त बुझाउनु पर्यो ।बराबरीपछि दुवै टोलीले समान अंक पाएका छन् । एनएसएल २०२५ मा यो लगातार दोस्रो बराबरी हो । यसअघि उद्घाटन खेलमा ललितपुर सिटी र काठमाडौं रेजर्सले २-२ को बराबरी खेलेका थिए ।