
काठमाडौं चैत,५गते ।
सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार एक कार्यक्रम गर्दै फुटबल टोलीलाई बिदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले एक कार्यक्रम बीच बिदाइ गरेको हो। नेपालले मार्च २१ मा सिंगापुरसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । त्यसपछि एसियन कप छनोटको अन्तिम चरणको पहिलो खेल मलेसियासँग मार्च २५ मा मलेसियामै खेल्नेछ ।
अष्ट्रेलियन प्रशिक्षक म्याट रोस मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपाली फुटबल टिमले पहिलो पटक खेल्न लागेको हो । रोसको प्रशिक्षणमा नेपाली टोलीले दुई साताको प्रशिक्षणपछि सिंगापुर जान लागेको हो । रोसले सिंगापुर र मलेसियाका लागि २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । यस पटक गोलकिपर अन्जल श्रेष्ठ, डिफेण्डर सुमन श्रेष्ठ र फरवार्ड सुबास बम ठकुरी तीन नयाँ खेलाडी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । नयाँ कोचको आगमनपछि टिम धेरै कुराहरु फरक रहेको र केही खेलपछि त्यो देखिने कप्तान किरण चेम्जोङले बताए । उनले सिंगापुर र मलेसिया विरुद्ध राम्रो प्रदर्शन गर्ने बताए । यो दुई खेलले आगामी साफ च्याम्पियनसिपको लागि पनि राम्रो तयारी हुने समेत किरणले बताए । यस्तै प्रशिक्षक म्याट रोसले दुई साता तयारी राम्रो भएको र यस टुरमा राम्रो प्रदर्शन गर्ने बताए । उनले टिममा अनुभवी र नयाँ क्षमतावान खेलाडी भएको भन्दै आफू एकदमै उत्साहित रहेको बताए । एसियन कप छनोटको अन्तिम चरणमा नेपाल समूह एफमा छ । यस समूहमा नेपाल र मलेसियासँगै भियतनाम र लाओस रहेका छन् । अन्तिम चरणमा २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । २४ टिमलाई ६ समूहमा विभाजन गरिएको छ ।
होम एण्ड अवेका आधारमा समूह चरणको खेलपछि ६ वटै समूहको शीर्ष स्थानमा रहने टिम सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा छनोट हुनेछ ।