बंगलादेश ट्रान्जिट हुँदै मलेसिया पुग्यो फुटबल टोली

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेल खेल्नका लागि मलेसिया पुगेको छ । शुक्रबार हुने अनौपचारिक मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टोली विहिबार विहान मात्र मलेसिया पुगेको हो । नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश ट्रान्जिट हुँदै टोलीलाई मलेसिया पठाएको हो ।

नेपालबाट विहान १२:४० मा बंगलादेश प्रस्थान गरेको टोली स्थानीय समय दिउँसो २:४० मा ढाका पुगेको थियो । त्यहाँ ४ घण्टा ट्रान्जिट बसेपछि मलेसिया प्रस्थान गरेको टोली विहीबार विहान १:३० बजे मात्र क्वालालम्पुर विमानस्थल पुग्यो । त्यसपछि होटेल पुग्दा विहान ३ बजेको थियो ।

शुक्रबार हुने खेलका लागि अब थकित टोलीले आज प्रशिक्षण गर्नेछ । प्रशिक्षक अनेसेले मलेसियाविरुद्ध खेलबाट बहराइनका लागि आफ्नो योजना थप प्रष्ट हुने बताएका थिए । तर थकित अवस्थामा राम्रो प्रशिक्षण गर्न नपाइ मलेसियाविरुद्ध खेल्ने अवस्था सिर्जना भएको छ । सामान्य रुपमा नेपालबाट मलेसिया सबैभन्दा बढी उडान विकल्प भएको क्षेत्रमा पर्छ । सिधा उडान झन्डै साढे ४ घण्टामा हुने यस क्षेत्रमा ४ फरक विमान कम्पनिले दैनिक उडान भरिरहेका छन् । तर एन्फाले झन्डै एक महिनाअघि देखि मैत्रीपूर्ण खेलको तालिका भएपनि टिकट व्यवस्थापन गर्न सकेन ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ